मे विरुद्धको अविश्वासको प्रस्ताव विफल



लन्डन (एजेन्सी)
बेलायतमा संसदबाट युरोपेली संघबाट अलग्गिने सरकारको योजना अस्विकृत भएको लगत्तै प्रधानमन्त्री टेरिजा मे विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएको छ । विपक्षी लेबर पार्टीले उनी विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो ।

संसदमा ३सय २५ सांसदले सरकारको समर्थनमा र ३ सय ६ सांसद अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रधानमन्त्रीले युरोपेली संघबाट बेलायत अलग हुने विषयमा युरोपेली अधिकारीहरुसँग गरेको सम्झौतालाई लिएर त्यसको अनुमोदनका लागि मंगलबार संसदमा गएकी थिइन् । तर संसदमा उक्त योजनालाई भारी मतले अस्विकार गरिएको थियो ।

त्यसको लगत्तै लेबर पार्टीका नेता जेरेमी कोर्बेनले टेरिजा मेको सरकारले संसदमा आफनो विश्वास गुमाइसकेको दावी गरेका थिए । त्यही बेला कोर्बेनले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

बुधबार बेलायती संसदमा ६ घण्टासम्म अविश्वासको प्रस्तावमा बहस भएपछि भोटिंग भएको थियो । तर २४ घण्टा अगाडी मेको बेक्जिट सहमतिको विरोधमा मत दिएका आफनै पार्टीका बागी सासंद र डियुपीका सांसदले अविश्वास प्रस्ताव विरुद्ध सरकारको समर्थनमा मत हालेका थिए । यसले गर्दा मे १९ मतको अन्तरले आफनो सरकार बचाउन सफल रहिन् ।

अविश्वासको प्रस्ताव विफल भएपछि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै भनिन् , युरोपेली संघ छोड्नका लागि भएको जनमत संग्रहको नतिजा पालना गर्न र यो देशको जनतासँग गरेका प्रतिबद्धता पुरा गर्नका लागि म काम गरिरहन्छु । ‘

उनले सबै पार्टीका नेतासँग आफुसँग मिलेर बक्जिटका लागि अगाडीको मार्ग खोज्नमा उनको मद्दत गर्न पनि अपिल गरिन् । उनले भनिन् ,‘ हामीले त्यसतो समाधान खोज्नु पर्नेछ जुन विचार गर्न योग्य होस र यो सदनको पर्याप्त समर्थन प्राप्त होस् । ‘

तर प्रतिपक्षी नेता कोर्बेनले कुनै पनि सकारात्मक वार्ता अगाडी प्रधानमन्त्रीले ‘नो डिल बे्रक्जिट‘को सम्भावनालाई खारेज गर्नु पर्ने बताए ।

प्रधानमन्त्रीले नयाँ प्रस्ताव सदन समक्ष प्रस्तुत गर्ने विश्वास ब्यक्त गर्दै भनिन् , ‘ब्रेक्जिटमा काम गर्न र सदन प्रति बेलायती जनताको विश्वास कायम राख्न म यो सदनका कुनै पनि सदस्यसँग काम गर्न तयार छु ।

प्रतिक्रिया दिनुहोस्