सिमरामा आयोजकको शानदार शूरुवात



नेपाल समाचारपत्र, बारा
आयोजक नवजनजागृति यूवा क्लबले सिमरामा बिहिबारबाट शुरु भएको रुस्लान सिमरा गोल्डकपको १०औं संस्करणमा विजयी शुरुवात गरेको छ ।
घरेलु मैदानमा स्थानिय यूवा खेलाडीले भरिएको नवजनजागृतिले मकवानपुर ११ हेटौंडालाई ३–० ले स्तव्ध पार्दै विजयी शुरुवात गरेको हो । टोलीको जितमा निरज थापामगरले दुई तथा प्रज्वल थापामगरले एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा टुंगिए पनि दोश्रो हाफमा मकवानपुरमाथि आयोजक सिमरा हावी भयो ।

मकवानपुरविरुद्ध दोश्रो हाफमा तिन गोल गरेको आयोजक सामु मकवानपुरका खेलाडीले पहिलो हाफको लय कायम राख्न सकेनन् । खेलको ४६ औं मिनटमा आयोजकका सुरज ठकुरीले हानेको फ्रि किक मकवानपुरका गोलरक्षक अनिश देउलाले समहाल्न नसक्दा आयोजकले अग्रता लिनपुगेको थियो । गोलरक्षक देउलाले पञ्च गरेको रिवाउण्ड बललाई सदुपयोग गर्दै निरज थापामगरले सिमराको लागि अग्रता दिलाएका थिए ।

खेलको ६० औं मिनटमा आयोजकका लागि प्रज्वल थापामगरले अग्रता दोव्वर पारे । मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल डिबक्स भित्रै खोस्न सफल प्रज्वलले सहजै गोलमा परिणत गरे ।

खेलको ७१ औं मिनटमा मोहित गुरुङको क्रसमा निरज थापामगरले व्यक्तिगत दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे । कर्नर एरियाबाट मोहितले डिबक्स भित्र निकालेको क्रसबल निरजले सहजै गोलमा परिणत गरे ।

जितपछि आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले खेलाडीको प्रदर्शनबाट आँफू खुशि भएको बताए । दुइदिन अघि विशाल गोल्डकप वीरगञ्जमा त्रिभूवन आर्मींसंग भोगेको पराजयले कमी कमजोरी सच्याएर खेल्न सेकेकाले मकवानपुर विरुद्ध जित सहज भएको क्षेत्रीले बताए ।

मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले दोश्रो हाफमा आक्रामक खेल्न खोज्दा पराजय बेहोर्नु परेको बताए । पहिलो हाफमा बराबरी खेलेपनि आक्रामक खेल्ने रणनीतिमा खेलाडी सफल नभएको उनको भनाई छ । जुनियर खेलाडीले भरिएको टिमको प्रदर्शन सञ्तोषजनकनै रहेको श्रेष्ठले बताए ।

खेलको म्यान अफदि म्याच आयोजकका निरज थापामगर घोषित भए । उनले दशहजार नगद सहित ट्रफि प्राप्त गरे । शुक्रबार विशाल मेमोरियल फाउण्डेशन वीरगञ्ज र सशस्त्र प्रहरीको एपिएफ क्लबविच प्रतिष्पर्धा हुनेछ ।

यसअघि विहिबार सिमरा रङ्गशालामा आयोजित उद्घाटन कार्यक्रममा यूवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । १२ माघ सम्म चल्ने प्रतियोगितामा १० टिम सहभागि छन् । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्