सेरेना लक्ष्यतिर अघि बढ्दै



मेलबर्न, (एजेन्सी)
करियरको २४औं ग्रान्डस्लाम लक्ष्य लिएकी सेरेना विलियम्स लगातार अघि बढिरहेकी छन् । मेलबर्नमा जारी अस्टे«लियनओपन अन्तर्गत सेरेना तेस्रो चरणमा पुगिन् ।

उनले बिहीबार भएको खेलमा क्यानाडाकी युजिनी बउचार्डलाई सीधा सेटमा हराएकी थिइन् । अमेरिकी खेलाडीले सो खेल ६–२, ६–२ ले जितेकी थिइन् । ३७ वर्षीया सेरेनाले अर्को चरणमा ५७औं वरियताकी युक्रेनी डायाना यास्टे«मस्कासँग खेल्नेछिन् ।

विश्व महिला टेनिसमा सर्वाधिक जित्ने कीर्तिमान अस्टे«लियाकी मार्गारेट कोर्टले राखेकी छिन् । उनले २४ ग्रान्डस्लाम जितेकी छिन् । सेरेना उनको कीर्तिमान बराबरी गर्न एक उपाधिले टाढा छिन् । यदि मेलबर्नमा जितेमा उनको आठौं अस्टे«लियन उपाधि हुनेछ । यो पनि सर्वाधिक जित्ने कीर्तिमान हुनेछ । गत सेप्टेम्बरमा भएको युएस ओपनमा उनी २४ ग्रान्डस्लाम नजिक पुगेकी थिइन् ।

तर उनी फाइनलमा अप्रत्यासित ढंगले नाओमी ओसाकासँग पराजित भएकी थिइन् । उनी यसै प्रतियोगितापछि पहिलो पटक कोर्टमा खेल्दैछिन् ।
यसैगरी विश्व नम्बर एक सिमोना हालेप हारबाट जोगिएकी छिन् । उनले अमेरिकाकी सोफिया केनीनलाई ६–३, ६–७, ६–४ ले पराजित गरेर तेस्रो चरण पुग्न सफल भइन् । अर्को खेलमा भेनस विलियम्ससँग खेल्न तय गरेकी सिमोनाले भनिन्— म कसरी जिते मलाई नै थाहा भएन ।

प्रतिक्रिया दिनुहोस्