महिलाहरु टपरी बुनेर आत्मनिर्भर बन्दै



बुद्ध नेपाली, सिन्धुली
सिन्धुलीको दुधौली नगरपालिका–११ का महिलाहरुसालको पातको दुना टपरी बुन्दै आत्मनिर्भर बन्न थालेका छन् । गाँउका २० जना महिलाहरुले सामुहिकरुपमा दुना पटरी उद्योग सञ्चालन नै गरेका छन् । ती महिलाहरुले जंगलमा खेर गइरहेको सालको पातको सदुपयोग मात्रै गरिरहेका छैन्न दुना टपरी बुनेर बेच्दै आयआर्जन समेत गर्न थालेका छन् ।

दैनिक एक जना बराबर ५० देखि ५ सय वटा दुना टपरी उत्पादन भइरहेको उद्यमी महिलाहरुले बताएका छन् । खुसीयाली कृषि सहकारी संस्था गठन गरी गाउँका महिलाहरुले दुना टपरी उद्योग संचालनमा ल्याएको दुना टपरी समुहकी अध्यक्ष लक्ष्मी कार्कीले बताईन् ।

सहकार्य नेपालद्धारा सञ्चालित महिला रोजगारीका लागि दिगो वित्तिय पहँुच परियोजनाले गाँउमै ७ दिने दुना टपरी बनाउने तालिम दिएको थियो । उनले भनिन ‘इच्छुक महिलाहरु मिलेर तालिम लियौं, तालिम सकिए लगत्तै हामीले उद्योग सञ्चालन गरेका हौँ ।’ अहिले दुना टपरी उत्पादनका लागि तालिम दिने सहकार्य नेपालले नै उनिहरुलाई मेशिन उपलब्ध गराएको छ ।

अहिले २० जना महिला उद्यमीहरु उद्योगमा आलोपालो गर्दै काम गर्ने गरेका छन् । उद्योगमा यति समयसम्म काम गर्नै पर्छ भन्ने अनिवार्य छैन । घरको काम सकेर दुना टपरी बुन्ने गरेको अध्यक्ष कार्कीले बताईन् । ‘घरको काम सकेर बाँकी रहेको समयलाई सदुपयोग गरिरहेका छौं, वनमा त्यसै खेर गईरहेका सालका पातको पनि सदुपयोग भएको छ, हामीले पनि दुई चार पैसा आम्दानी गरिरहेका छौँ ।’उनले भनिन ।

पहिले दुई चार पैसाका लागि पनि अरुसँग माग्नुपर्ने अवस्था थियो तर अहिले आफ्नै इच्छा अनुसार खर्च गर्न पाईने उनको भनाई । गाँउमै दुना टपरी उद्योग सञ्चालन भएपछि अन्य महिलाहरू पनि स्वरोजगार बनेका छन् । ‘पहिले सिन्दूर पोते किन्न पनि श्रीमानसँग हात थाप्ने महिलाहरू आफै सक्षम बन्नेका छन।’
उद्योग सञ्चालमा आएको एक महिनाको अवधिमा नै ५ हजारभन्दा बढी दुना टपरी उत्पादन गरेको अध्यक्ष कार्कीले जानकारी दिइन । उनका अनुसार उद्योगमा थाल, प्लेट र कचौरा गरी तीन साइजका दुना टपरी उत्पादन हुन्छ । थाल प्रति थान अढाई रुपैयाँ, प्लेट ढेड रुपैयाँ र कचौरा एक रुपैयाँमा विक्रि हुने गरेको उनले बताइन ।

दुना पटरीका लागि उद्योमीहरु आँफैले पात टिपेर ल्याउने गरेका छन् । भने गाँउका अन्य महिलाहरुबाट पनि किन्ने गरेको छ । दुना टपरी समुहकी अध्यक्ष कार्कीले भनिन,‘एक रुपैयाँले गाउँमा लाफा किन्छौँ, लाफा टिपेर दिदी बहिनीहरुले नुन, भुटुन जोहो गर्न थाल्नु भएको छ ।’ पहिले–पहिले घरधन्दामै दिन विताउने यहाँका महिलाहरु अहिले त घरधन्दा सकेर पनि उद्योगमा काम गर्न भ्याउछन् । सुरुमा त कसरी समय मिलाउने होला भन्ने लागेको थियो । तर गर्दै जाँदा आँफै मिल्ने कुरा पो रैछ उनले भनिन् ।उत्पादित दुना टपरी सिन्धुली सदरमुकाम, महोत्तरी, सर्लाही, उदयपुरलगायतका ठाँउमा विक्रि हुने गरेको उनले बताइन ।

प्रतिक्रिया दिनुहोस्