गाउँ रित्तिन नदेऊ



नेपाल ग्रामीण बस्तीले भरिएको मुलुक हो । यहाँका अधिकांश व्यक्तिको पेसा कृषि हो । तर यतिखेर यहाँका ग्रामीण बस्ती रित्ता हुँदै गएका छन् । एकातिर गाउँ रित्तिँदै गएको छ भने शहरमा मान्छेको खचाखच भएको छ ।

ग्रामीण युवाहरु रोजिरोटीका लागि खाडी मुलुकतिर गएका छन् भने उनीहरुका आश्रित परिवार शहर पसेका छन् । सिंहदरबार गाउँ–गाउँमा पुगेको भनिए पनि त्यसको अनुभूति हुन सकेको छैन । शहरको कोलाहल त्यागेर गाउँतर्फ लाग्नुपर्नेमा किन गाउँका मानिस शहरतर्फ आकर्षित भए त ? प्रश्न गहिरो छ । हुन त शहरमा पनि बस्न त्यति सहज छैन । सरकारले नगरपाकिलाको संख्या त बढायो, सेवा, सुविधा र अवसर भने थप्न सकेन । नगर क्षेत्रमा हुनुपर्ने सार्वजनिक सडक, यातायात, इन्धनलगायत पिउने पानी, विद्युत्, ढलजस्ता कुरा अझै व्यवस्थित हुन सकेका छैनन् । तर पनि मानिस गाउँ नै रित्तो पारेर शहरतर्फ केन्द्रित हुन थालेका छन् । राज्यका लागि यो ठूलो समस्या हो ।

बुधबार प्रकाशित समाचारअनुसार पर्वत जिल्लाका ग्रामीण क्षेत्रबाट बसाइँ सर्ने क्रम बढेपछि गाउँ रित्तिन थालेको छ । शिक्षा, स्वास्थ्य र भौतिक सुविधा नभएको भन्दै ग्रामीण क्षेत्रका स्थानीयहरु सुगम ठाउँमा स्थानान्तरण हुन लागेका छन् । डेढ दशकको अवधिमा यहाँको आर्थर डाँडाखर्क, चित्रे, भुकदेउराली, दुर्लुङ, पूर्णगाउँ, भोक्सिङ, क्याङ, सालिजा, लेस्पारलगायतका बस्तीबाट दुई तिहाइभन्दा बढी स्थानीय सुगम क्षेत्र खोज्दै बसाइँ सरेका छन् ।

उनीहरु नजिकका विकासोन्मुख बस्ती र पोखरातर्फ गएको समाचार छ । साथै दोलखाको कालिञ्चोक गाउँपालिका–४ हिलेपानी गाउँ भूकम्पपछि पूरै जंगलमा परिणत भएको छ । यी त उदाहरण मात्रै हुन्, मुलुकका धेरै ग्रामीण बस्ती खालि हुन लागेका र मानिस नभएका कारण जमिन बाँझो भएका समाचार प्रायः मिडियामा आइरहन्छन् ।

गाउँ रित्तो बन्दै गएको यहाँको सरकारलाई थाहा नभएको पनि होइन तर समस्या समाधानका लागि अग्रसर भएको देखिँदैन । मुलुकमा नीतिको कमी छैन, योजनाकारहरुको पनि अभाव छैन, अभाव छ केवल काम गर्नेको । झन्डै विगत तीन दशकदेखि अधिकांश जागरुक नेपाली राजनीतिको खेतीपातीमा रुमल्लिन पुगे । त्यसमा पनि कोही पसिना बगाउन खाडी मुलुकतिर लागे । कतिपय युवायुवतीको राजनीतिक दलहरुको झोला भिर्दै समय बित्यो ।

अहिले राजनीतिक उद्देश्य हासिल भइसकेको छ तर पनि ग्रामीण बस्ती खालि हुन रोकिएको छैन । ग्रामीण बस्ती रित्तिँदै जाँदा यसको असर शहरमा पर्न थालेको छ । यही गतिमा ग्रामीण बस्ती रित्तिँदै जाने हो भने शहरमा मानिसको खचाखच भएर ठूलो समस्या निम्तिनेछ । त्यतिखेर पछुताउनुभन्दा सरकारले अहिलेदेखि नै गाउँ फर्कने वातावरण बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्