पर्वतमा बस दुर्घटना: ७ को मृत्यु, ३२ घाईते



दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको कुस्मा नगरपालिका–१ मालढुंगामा बिहीबार भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३२ जना यात्रु घाइते भएका छन ।

म्याग्दीको सदरमुकाम बेनीबाट नारायणगढ तर्फ हिँडेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा ३ जना र अस्पतालमा उपचारका क्रममा ४ जनाको मृत्यु भएको थियो । मृतक र घाइते मध्ये धेरै पर्वतको जलजला गाउँपालिकाका रहेका छन । मध्यपहाडी लोकमार्ग बिस्तारका क्रममा सडक बन्द हुने भन्दै चालकले तीब्र गतिमा चलाएको बस बिहान साढे ८ बजेर १५ मा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुने ७ जना कै सनाखत भएको छ ।

पर्वतको जलजला गाउँपालिका–८ का एकै परिवारका टिके परियार र उनकी श्रीमती सेती परियार, जलजला ७ का जीवन विक र अमिसरा पुन, म्याग्दीको पाखापानीका राजेश पुन, भरतपुर महानगरपालिका– ८ का सुब्बे परियार र बाग्लुङ्ग नगरपालिका ४ कुडुलेकी शान्ति केसी रहेकी छन ।

दुर्घटनामा गम्भीर घाईते ९ जनालाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । उपचारका लागि काठमाडौ लगिएकामा कालिकोट महावल गाउँपलिका ४ का राजबहादुर सिंह , म्याग्दीको बेनी ८ बस्ने लक्ष्मीप्रसाद बिक, सोही ठाउँका दिपेन्द्र बिक पर्वतको जलजला ८ का प्रवेशिका पौडेल, उनका भाई ७ वर्षिय प्रमाण पौडेल, चितवन लङपुर बस्ने रोहिणीप्रसाद चापागाई, सोही ठाउँका कृष्ण पौडेल र बेनी नगरपालिका –७ की मन्दिरा पौडेललाई डाईनेस्टीक एयरको हेलिकप्टरद्धारा काठमाडौ लगिएको हो ।

२२ जना घाइतेलाई उपचारका लागि पोखरा लगिएको छ । पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेका घाईतेमा जलजला गाउँपालिका ८ का बिक्रम रेग्मी, कमला रेग्मी, कुशल रेग्मी, पोखरा महानगरपालिका– ३३ बस्ने लक्ष्मी बोहरा सोही ठाउँकी दिपिका बोहरा कास्कीको अन्नपुर्ण ४ बस्ने चन्द्रा आचार्य सोही ठाउँका ३ वर्षिय बालक शंकर पौडेल जलजला ७ बस्ने बिषमाया पुन, कुश्मा नगरपालिका ९ बस्ने बसका चालक रमेश पराजुली रहेका छन् ।

त्यसैगरी जलजला गाउँपालिका ७ बस्ने उद्बिर तिलिजा, म्याग्दी बेनी– ७ बस्ने टेक बहादुर पुन, हेमकला रेग्मी, सुन्दरी पौडेल जलजला ७ बस्ने कमल पौडेल बालकृष्ण पौडेल, चितवन भरतपुर महानगरपालिका ४ का पुर्णकला बस्नेत, पर्वतको जलजला ८ का राजन सापकोटा, धादिङका मानबहादुर गुरूङ, जलजला ८ कै देवीलाल नेपाली, दीपक परियार, तुलसी सुवेदी र चितवनका लक्ष्मी पौडेल रहेका छन् । अन्य घाईतेको धौलागिरि अञ्चल अस्पतालमै उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बिभिन्न क्षेत्रबाट दुःख ब्यक्त
पर्वतमा भएको बस दुर्घटनापछि बिभिन्न क्षेत्रबाट दुःख ब्यक्त गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले काठमाडौमा उपचार गराई रहेका बिरामीहरुलाई अस्पतालमा नै भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ भने गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्ग, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्साल, पर्वतबाट निर्वािचत प्रतिनिधिसभाका सदस्य पदम गिरी, नेपाल कम्युनिष्ट पार्टी पर्वत जिल्ला संयन्त्रका तर्फबाट केन्द्रिय सदस्य गुप्तबहादुर हमाल,ले दुःख ब्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्