१२ हजार ६ सय स्याउका बोट रोपिने



किरन धामी, दार्चुला ।
दार्चुला जिल्लामा चालु आर्थिक वर्ष भित्रै १२ हजार ६ सय स्याउका बोटहरु रोपिने भएका छन् । जिल्लाका प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना स्याउ जोन लागु भएका स्थानिय तहहरुमा उक्त संख्याका गाला र फुजी जातका उच्च प्रविधिका स्याउका बोट रोपिने परियोजनाका सुचना अधिकारी हरि दत्त जोशीले जानकारी दिए ।

इटलीबाट आयात गरिने उक्त जातका स्याउका बोट ६ सय तथा नेपालको जुम्ला, मनाङ र मुस्ताङबाट आयात गरिने रोयल र गोल्डेन जातका कलमी स्याउका १२ हजार बोट रोपिने उनले जानकारी दिए ।

इटलीबाट आयात हुने गाला र फुजी जातको स्याउ रोपेको २ वर्ष देखी फल्न सुरु गर्ने उनले बताए । परियोजना लागु भएको स्थानिय तहका कृषक समुह, संस्था र उद्यमीहरुको मागका आधारमा स्याउका बोटहरु माग गरिएको उनले बताए ।

दार्चुलाका ब्याँस, अपिहिमाल र नौगाड गाउँपालिकामा स्याउ जोन कार्यक्रम लागु भएको छ । इटलीबाट स्याउका बोटहरु ल्याई ७० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरिने तथा उन्नत जातको कलमी बोट ५० प्रतिशत अनुदानमा वितरण गरिने उनले जानकारी दिए ।

आठ वर्षमा ५ सय हेक्टर क्षेत्रफलमा स्याउको क्षेत्र विस्तार गर्ने उद्देश्यका साथ यस वर्ष १२ हजार ६ सय स्याउका बोट रोपिने उनले बताए । इटलीबाट आयात गरिने गाला र फुजी जातको स्याउको एक बोटको मुल्य ११ सय ५० रुपैया पर्ने गरेको उनले बताए ।

यस्तै उन्नत जातको कलमी बोटको मुल्य प्रति बोट ५० रुपैया पर्ने गरेको उनको भनाई छ ।

ईटलीबाट आयात गरिने गाला र फुजी स्याउका बोटहरु १ हेक्टर क्षेत्रफलमा १४ सय बोटहरु रोप्न सकिने सुचना अधिकारी जोशीले जानकारी दिए । जिल्लाका ब्याँस अपिहिमाल गाउँपालिका पुरै र नौगाड गाउँपालिकाको जात्रा र लक्सेरी क्षेत्रमा स्याउ उत्पादन हुने गरेका छन् ।

दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका क्षेत्र भित्रको सार्वजनिक बाटो क्षेत्रलाई सिमाङ्कन गरिएको छ । नगरपालिका क्षेत्र भित्र दमकल संचालनका लागी विस्तार गरिने सडकका लागी सार्वजनिक बाटोको सिमाङ्कन गरिएको महाकाली नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले जानकारी दिए । बजार क्षेत्र भित्र सहजरुपमा दमकल र एम्बुलेन्स संचालनका लागी सडक विस्तार गर्न सार्वजनिक बाटोको सिमाङ्कन गरिएको उनले बताए ।

सार्वजनिक बाटोको सिमाङ्कन

नगरपालिकाको वडा नम्बर ४ को तितरशैन पिपलचौतरा देखी राधाकृष्ण चोक सम्मको बाटोलाई सिमाङ्कन गरिएको उनले जानकारी दिए । सिमाङ्कन गरिएको सार्वजनिक बाटोलाई ओगेटेर निर्माण गरिएका संरचनामा रातो रङ र बजार क्षेत्रको सडकलाई साढे ६ मिटरको बनाउन पहेल रङ लगाइएको छ । रातो रङ लगाइएको संरचना अथवा क्षेत्रलाई सार्वजनिक जग्गाको रुपमा लिन सकिने तथा पहेलो रङ लगाएको संरचना अथवा क्षेत्रलाई निजि जग्गाको रुपमा लिन सकिने प्रवक्ता जोशीले बताए ।

बजार क्षेत्र भित्र दमकल र एम्बुलेन्स सहज रुपमा संचालनका लागी रातो रङ लगाएको क्षेत्र अथवा संरचनालाई भत्काइने उनले बताए । पहेलो रङ लगाइएको संरचना अथवा क्षेत्रलाई घरधनी वा जग्गाधनीको सहमतीमा भत्काई सडक साढे ६ मिटर सम्मको चौडा बनाइने उनले जानकारी दिए । नगरपालिकाको बजार क्षेत्रको सार्वजनिक बाटोको सिमाङ्कन गरी अतिक्रमित जग्गामा निर्माण भएका संरचनाहरुलाई हटाइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्