सुप विश्वविद्यालय भित्रको बेथितिः जङ्गे शैलीमा प्रिन्सिपलले तोडे आन्दोलित विद्यार्थीको ताला !



उपकूलपति र रजिष्ट्रारमाथि कडा कारबाही हुने संकेत

मनोज भट्ट, महेन्द्रनगर ।
सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस खुलेकै दिन प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले संघर्ष समितिको ताला तोडेका छन् । विश्वविद्यालय केन्द्रीय क्याम्पस १५ पुस यता चिसो बिदा भन्दै बन्द रहेको थियो ।

बुधवार मात्रै खुलेको विश्वविद्यालय प्रशासन तथा केन्द्रीय क्याम्पसमा सुदूर पश्चिमाञ्चल विश्वविद्यालय बचाउ संघर्ष समितिले मुल गेटमा लगाएको ताला समिति संग वार्ता नगरि तोडेको विद्यार्थी नेता गणेश मिश्रले बताए ।

प्रिन्सिपल बिष्टले आफ्नो असलियत अझै पनि नछोडेको र अझै पनि यस्तै किसीमका व्यवहार देखाए भने विद्यार्थीले आफ्नो तरहको कारबाही गर्ने विद्यार्थी नेता किशोर जेशीले बताए । विश्वविद्यालयमा कुनै किसीमको पनि असर नपर्ने गरि लगाएको ताला तोडेको प्रति सुदूर पश्चिमाञ्चल विश्वविद्यालय बचाउ संघर्ष समितिले आपत्ति जनाएको छ ।

पछिल्लो समयमा शान्तिपुर्ण ढंगवाट आन्दोलन गरिरहेका र विश्वविद्यालयको पठनपाठन लगायत प्रशासनीक कार्यमा कुनै अवरोध नगर्ने गरी लगाएको ताला आन्दोलनकारी पक्षसँग वार्ता नै नगरि उल्टै आफ्ना चाकरहरूको समुह वनाएर आफुले आफैसंग वार्ता गर्ने जस्तो हास्यास्पद निचकाम काम प्रिन्सिपल बिष्टले गरिरहेको उक्त समितिले बताएको छ ।

प्रिन्सिपल जस्तो गरिमामय पदको दुरुपयोग गरि विश्वविद्यालयलाई रिसर्च सेन्टर बनाउन पहल गर्नुको सट्टा उल्टै आफ्ना चाकरवाजहरुलाइ भर्ति गर्ने भ्रष्टचार केन्द्रमा परिणत गरि हजारौं गरिब जनताका छोराछोरीको भविष्य र अधिकारमाथि ठाडो रुपमो खेलवाड गरिरहेको विद्यार्थी नेता गणेश मिश्रले बताए ।
उपकूलपति र रजिष्ट्रार माथि कडा कारबाही

विश्वविद्यालयका उपकूलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्धिजराज भट्टले आर्थिक चलखेल तथा अनियमितता गरेको आरोप लागेपछि छानविन तथा कारबाही प्रकृयाका लागि काठमाडौं झिकाइएको थियो ।

२७ पुसमा प्राधानमन्त्री कार्यालयबाट उपकूलपति र रजिष्ट्रारलाई हालका मिति देखि सफाई तथा अन्तिम फैसला नहुन्जेल सम्मका लागि पदबाट हटाएको हो । उनिहरुलाई विश्वविद्यालयको कुनै पनि कामकाज तथा कार्य सम्पादन गर्न नपाउने गरि रोक लगाइएको हो । उपकूलपति र रजिष्ट्रारलाई कारबाहीका लागि प्रकृया अगाडि बढेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए ।

विश्वविद्यालयमा उपकूलपति र रजिष्ट्रारले विभिन्न शिर्षकमा बढि खर्च देखाई करोडौं अनियमितताका तथ्यहरु बाहिरीएका छन् ।

भ्रमण, इन्धन, कानुन, दिक्षान्त, भवन निमार्ण, पाठ्यक्रम निमार्ण तथा परिमार्जन, अध्ययन अनुसन्धान, अतिथि सत्कार, भत्ता लगायतका अन्य शिर्षकहरुमा बढाई चढाई करोडौंको अनियमितता गरेका तथ्यहरु बाहिरिए पछि कारबाही प्रकृया अगाडि बढेको हो । विश्वविद्यालयका प्राध्यापकहरुले उनिमाथि अविश्वासको प्रस्ताव पेश गरे पछि उक्त प्रकृया अघि बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्