खप्तड घुम्न आउने पर्यटकको संख्या बढ्यो



विमल विष्ट, डोटी ।
सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन मात्रामा बृद्धी भएको पाइएको छ ।

चालु आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । निकुञ्जमा बाहृय पर्यटक भन्दा आन्तरिक पर्यटक बढी आउने गरेको उहाँले बताउनु भयो ।

खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेको निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालु आर्थिक वर्षको ७ महिनामा दुई लाख भन्दा बढी राजश्व संकलन भएको छ । त्यस्तै आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जले बाहृय पर्यटकबाट प्रतिव्यक्ति ३ हजार ३ सय ९० रुपियाका दरले भ्रमण शुल्क लिने गरेको छ । खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै बिभिन्न जातीका जंगली जनावर समेत हेर्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । निकुञ्जको संरक्षणका लागि चारवटा ठाउँमा इलाका कार्यालय रहेको छ ।

खप्तड क्षेत्रमा जेठमा गंगा दशहरा मेला तथा जनैपूणिर्माका दिन भव्य जात्रा लाग्ने गर्दछ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकहरुको घुइँचो लाग्ने गरेको बग्लेकका स्थानिय धनबहादुर विष्टले बताउनु भयो ।

त्यस्तै खप्तड क्षेत्रमा पर्यटन गतिबिधि बढाउन खप्तड प्रबेश द्वार बगलेकमा होमस्टे सचालनको तयारी थालिएको छ ।

डोटीको पुर्बिचौकि गाउपालिका , होटल ब्यवसायी संघ डोटी र पुर्बिचौकि गाउपालिका वडा न २ को सयुक्त लगानीमा बगलेक गाउका १० घरधुरी बाट उक्त होमस्टे सुरु गरीने होटल ब्यवसायी संघ डोटीका अध्यक्ष दिपकबहादुर खड्काले जानकारी दिनु भयो ।
बग्लेकमा तत्कालै ठुला होटेलहरु संचालनमा ल्याउन कठिन हुने हुदा होमस्टेका माध्यम बाट पर्यटकहरुलाई सुबिधा दिन स्थानीय घरहरुलाई छनौट गरिएको अध्यक्ष खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्