‘ग्लोबल टिचिङ प्राइज’का लागि छनौट



नेपाल समाचारपत्र, लमजुङ
लमजुङका संशेरबहादुर थापा अन्तराष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’का लागि छनौट हुनु भएको छ । सो पुरस्कारका लागि विश्वका १७९ मुलुकबाट छनौट भएका ५० जना भित्र पर्ने नेपाली नागरिकमा थापा मात्र्र एक जना हुनुहुन्छ ।

आगामी मार्चमा दुवईमा सम्पन्न हुने सो पुरस्कारको वितरण समारोहमा आयोजक यूके मार्की फाउण्डेसनले थापालाई पाँच रातका लागि आतेजाते खर्च समेत बेहोर्ने गरी आमन्त्रण गरिसकेको छ । अनलाईनका माध्यमबाट उक्त पुरस्कारको दावी गर्नेमा १७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीहरूले फाराम भरेको बताइएको छ । तीमध्येबाट ३८ देशका ५० जना छनौैट हुनेमध्ये आफू एकजना मात्र नेपाली भएको थापा हुनुहुन्छ । उहाँका अनुसार सो पुरस्कारको राशि एक मिलिएन अमेरिकन डलर रहेको छ । त्यसको टप टेनको नतिजा आउँदो फेबु्रअरीमा आयोजक संस्थाले सार्वजनिक गर्ने कार्यक्रम छ ।

लमजुङको बेसीशहर नगरपालिका– ३, गाउँशहरका स्थायी बासिन्दा थापाले सोही गाउँमा रहेको लमजुङ माविबाट २०५५ सालमा एसएलसी उतीर्ण गर्नु भएको हो । बेसीशहरकै मस्र्याङ्दी बहुमुखी क्याम्पसबाट आइए उतीर्ण गर्नु भएका उहाँले घरायसी समस्याका कारण डिप्लोमा तहमा प्राइभेट परीक्षाबाट उतीर्ण गरेको संशेरबहादुर थापाले बताउनु भयो ।

करिब आठ वर्ष बेसीशहरकै डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल हु्नु भएका थापाले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन हिल एकेडेमी र बेसीशहर नगरपालिका– ६ को चण्डिस्थानमा न्यू भिजन एकेडेमीको संस्थापक प्रिन्सिपल रहेर सञ्चालन गरिआउनु भएको छ । अंग्रेजी माध्यमबाट पढाई हुने ती विद्यालयमा फिको अनिवार्यता नरहेको गरीव भन्दा गरीव विद्यार्थीले पढ्ने र तीन जना त लाटालाटी तथा दलित परिवारका बालबालिकाहरूसमेत आफ्नो विद्यालयका विद्यार्थी रहेको थापा बताउनु हुन्छ । हेभेन हिल एकेडेमीमा कक्षा– ४ सम्म र न्यू भिजन एकेडेमीमा पूर्वप्रार्थमिक शिक्षाको पढाई हुँदै आएको उहाँले जानकारी दिनु भयो ।

उहाँका अनुसार विद्यार्थीलाई आवश्यक किताव, कापी, कलम मात्र नभई पोशाकको समेत प्रवन्ध विद्यालय सञ्चालकहरूको तर्फबाट गर्ने गरिएको छ । विद्यालय पूर्ण बालमैत्री वातावरणमा अध्यापन गरिन्छ थापा बताउनु हुन्छ ।

उहाँका अनुसार विद्यालयको पोशाकमा पुरै नेपालीपन झल्कने गरी तय गरिएको छ । टाई लगायतका वस्तुको प्रयोग गरिदैन विद्यालयमा विहान प्रार्थना हुनु अघि विद्यार्थीलाई नाच्न लगाइन्छ, घोड चढी त्यो विद्यालयको अर्को विशेषता रहेको थापाको भनाई छ । उहाँका अनुसार घोड चढीले विद्यार्थीमा आत्म विश्वास बढ्ने, साहसी स्वभावको विकास हुने देखिएको छ ।

उहाँका अनुसार हरेक शनिबार विद्यालयमा विद्यार्थीहरूलाई कुकिङको सीप सिकाइन्छ । त्यसले बालबालिकाहरूमा सिर्जनात्मक क्षमताको अभिवृद्धि हुनुका साथै बालबालिकाले विभिन्न भेराइटिका वस्तु खान पाउने हुँदा उनीहरूलाई कुपोषणबाट बचाउन र उनीहरूलाई पढाई प्रति रुचि जागृत गर्न मद्दत मिल्ने गरेको अभुवन रहेको थापाको भनाई छ । विद्यालयमा देखिएको सोही वातावरणका आधारमा आफूलाई पुरस्कारका लागि छनौट गरिएको हुन सक्ने उहाँ बताउनु हुन्छ ।

यसअघि आफूले ‘टिचिङ एक्सिलेन्ट अवार्ड– २०१८’ प्राप्त गरिसकेको उहाँले जानकारी दिनु भयो ।

विद्यालय चलाउने खर्च के कसरी जुटाउनु भएको छ त ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘स्वयम् सेवकबाट प्राप्त हुने चन्दा हो’ थापाले बताउनु भयो । उक्त विद्यालयको जर्मनमा रहेको २६४ थाप्लो एजुकेशन नामक संस्थाबाट स्वयम्सेवकहरू र केही आर्थिक सहयोग पनि पाउने गरेको थापा बताउनु हुन्छ । उहाँका अनुसार अहिले पनि जर्मनका तीन जना स्वयंसेवकहरू आफ्नो विद्यालयमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्