सीप सिकेर आफ्नै खुट्टामा उभिने धोको



सीताराम चौधरी, कपिलवस्तु
“भाग्यका ठगिएकी म आफ्नै खुट्टामा उभिन चाहन्छु, मिहिनेत म गर्छु, साथ तपाईंको चाहन्छु ।” शारीरिक रुपले अपांगता भएर पनि बुटिक तालिमबाट सीप सिकेकी कपिलवस्तु शिवपुरकी फुलकुमारी थारु सम्बन्धित सरोकारवालासँग अनुरोध गर्नुभयो ।

दुई महिने कपडामा बुट्टा भर्ने (बुटिक) सीप सिकेकी थारुले सरोकारवालासँग आग्रह गर्दै भन्नुभयो –“हामीलाई सीप त दिनुभयो, व्यवसायिक बन्न अब तपाईंहरुको साथ चाहिन्छ । तपाईंहरुको साथ बिना हामी अगाडि बढ्न सक्दैनौं ।”

तालिमबाट आफुहरुमा केही गर्न सक्छु भन्ने आत्मबल बढेको बताउनुहुन्छ तालिमकी अर्की सहभागी आस्कल थारु । एकैपटक केही गर्न नसकिएला तर हामी सबैले सामुहिक रुपमा नै सिकेको सीपलाई व्यवसायमा परिणत गर्छौं थारुले विश्वास व्यक्त गर्नुभयो । सम्बन्धित निकायले आर्थिक व्यवस्थापन गरिदिए हामी व्यवसायिक रुपमा अगाडि बढ्ने थियौं, उहाँले अपेक्षा गर्नुभयो । तालिमका सबै सहभागिहरुले सिकेको सीपलाई व्यवसायिक बनाउँदै सम्मान जनक जीवनयापन गर्ने अठोट गरेका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका स्तरीय अपांग पुनस्र्थापन समितिले अपांगता भएका किशोरीलाई आत्मनिर्भर बनाउन दुई महिने बुटिक तालिम दिइएको संस्थाका अध्यक्ष दिपक खड्काले बताउनुभयो । तालिमले अपांगता भएका किशोरीलाई आत्मनिर्भर मात्र नभई समाजमा फरक पहिचानसहित सपांगसरह जीवनयापन गर्नसक्ने बनाउने अध्यक्ष खडकाले विश्वास व्यक्त गर्नुभयो ।

शिवराज नगरपालिका र किर्डाक नेपाल कपिलवस्तुको आर्थिक सहयोगमा नगरभित्रका १० अपाङ्गता र विपन्न परिवारका किशोरीहरुलाई लक्षित गरी तालिम संचालन गरेको हो । तालिम समापनका क्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरीले सीपलाई व्यवसायमा परिणत गर्न तालिमका सहभागीलाई सुझाव दिनुभयो । अपाङ्गता भएकाहरुले समाजमा अरु सरह सम्मानपूर्वक बाँच्न पाउने अधिकार भएको उदृत गर्दै उपप्रमुख चौधरीले नगरपालिकाबाट सानो सहयोग गरेको भएपनि व्यवसायिक बन्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्