‘रामबहादुर बमजनलाई नेपाल सरकारले धरपकड गर्ने कुनै आधार छैन’



माघ ३ देखि ६ गते सम्म पद यात्रा र विश्व शान्ति मैत्री पुजा, प्रार्थना हुँदै

‘लिटल बुद्ध’का नामले चिनिएका रामबहादुर बम्जनलाई नेपाल सरकारले धरपकड गर्ने कुनै आधार नभएको बोधी श्रवण धर्म संघले बताएको छ । बुधवार सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित पैरेमा रहेको बम्जनको आश्रममा पत्रकार सम्मेलन गर्दै संघले कुनै घटना नघटी मान्छे खोजी पाऊँ भन्ने प्रहरीमा उजुरी परेकै आधारमा बम्जन माथि आरोप लगाउन नमिल्ने बताएको हो ।

पत्रकार सम्मेलनमा बोधी श्रवण धर्म संघका प्रवक्ता मणी लामाले बम्जनको आश्रममा कुनै पनि घटना नघटेको दावी गरेका छन् । उनले भने ‘गुरुलाई कुनै आरोप नै छैन, पेपरमा आएको आरोपको त हामीले खण्डन गरि सक्यौं, कुनै अपराध नै भएको छैन, कुनै घटनानै घटेको छैन, मान्छे खोजी पाउँ भन्दैमा किन गुरुसँग गाँस्ने, किन धर्मसँग गाँस्ने’ ।

नेपाली समाजमा र विश्वमा राम बहादुर बम्जनलाई बदनाम गराउन सञ्चार माध्यमहरुले बम्जनको नकारात्मक प्रचार प्रसार मात्र गरिरहेको आरोप संघले लगाएको छ ।

बम्जनका विभिन्न आश्रममा बस्दा पाँच जना उनका अनुयायी र आनीहरु बेपत्ता भएको, आश्रमका आनीहरु माथी यौन दुव्र्यबहार गरेको जस्ता आरोपमा बम्जन माथी किटानी जाहेरी परेपछि प्रहरीले बम्जनको सिन्धुली र सिन्धुपाल्चोक बाँडेगाउँ स्थित आश्रममा अनुसन्धान थालेको छ । तर बम्जनको आश्रमबाट कुनै पनि व्यक्ति बेपत्ता नभएको बोधी श्रवण धर्म संघका प्रवक्ता लामाको दावी छ ।

पत्रकार सम्मेलनमा पत्रकारसँग रिसाउदै प्रवक्ता लामाले बम्जनका बारेमा विभिन्न सञ्चार माध्यममा प्रकासित तथा प्रसारित समाचार निराधार, कपोल्कपीत भएको बताए । निस्पक्ष र न्यायीक अनुसन्धान हुनुपर्ने बताउदै प्रवक्ता लामाले अनुसन्धान कार्यमा सहयोग गर्ने जनाए ।

यसैविच बोधी श्रवण धर्म संघले विहीवार देखि तिन दिन सम्म मैत्री धर्म शान्ति पद यात्रा र विश्व शान्ति मैत्री पुजा, प्रार्थनाको आयोजना गरेको छ ।

पद यात्रा र विश्व शान्ति मैत्री पुजा,प्रार्थनामा देश तथा विदेशबाट ४,५ हजार बम्जनका अनुयायीहरुको उपस्थिती हुने संघले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । तर पद यात्रा र विश्व शान्ति मैत्री पुजा,प्रार्थनामा राम बहादुर बम्जन उपस्थित नहुने संघका प्रवक्ता लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्