पेप्सी र कोकोकोलाजस्ता ब्राण्डका २ वटा पार्टीले देश बिगारेः डा.भट्टराई



गंगा बराल, काठमाडौं ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले पेप्सी र कोकोकोलाजस्ता ब्राण्डका २ वटा पार्टीले देश बिगारेको आरोप लगाउनुभएको छ । उहाँले नेकपा र कांग्रेसले देश बिगार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै त्यसलाई जोगाउन बैकल्पिक शक्तिको रुपमा आफूहरु स्थापित भएको बताउनुभयो ।

वाडडबडी प्रकरणबारे पार्टीको संसदीय मामिला एवम् राज्य व्यवस्था विभाग र नेपाल पर्यटन परिषद्ले बुधबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका भट्टराइले ती पार्टीहरुको ब्राण्ड राम्रो भएपनि व्यवहार दुषित भएको बताउनुभयो । ‘कोकोकोला र पेप्सीको ब्राण्ड बिक्छ तर ती खाद्यपदार्थ कति दुषित छ वा खान अयोग्य छन् भन्ने कुरा प्रमुख हुन्छ’ भट्टराइले भन्नुभयो ‘प्रमुख पार्टीका प्रमुख नेताको संलग्नताबिना अरबौं अरवको भ्रष्टाचार हुन सक्दैन ।’ भट्टराइले अहिले देखिएका भ्रष्टाचार र अनियमितता त उदाहरणमात्र भएको भन्दै यस्ता अनेकन भ्रष्टाचारले देश चुर्लुम्म डुबेको बताउनुभयो ।

भट्टराइले आफू अर्थमन्त्री र हिसिला यमी पर्यटनमन्त्री भएको बेला न्यारोबडी किन्ने सहमति भएको र पछि किनिएको पनि बताउनुभयो । अहिले वाइडबडीको काण्डमा धेरै अनियमितता र भ्रष्टाचार भएको भन्दै सत्यतथ्य टुंगो नलागेसम्म सडक, सदन र अन्य माध्यमबाट आन्दोलन चर्काइरहने प्रष्ट पार्नुभयो । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालप्रति व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो ‘ उहाँ हौसिएपछि सत्य कुरा बोल्नुहुन्छ, सत्ता र प्रतिपक्षको बालुवाटारमा मिटिङ भयो भनेपछि यस्तै सेटिङ भयो होला भन्ने लागेको थियो, चितवन पुगेर राजनीतिक सहमति भयो भन्नुभयो, अनि वाइडबडीमा पनि कुरा मिलेछ भन्ने बुझें ।’

अन्तरक्रियामा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य सांसद प्रदीप यादबले समिति र उपसमितिमा रहेर काम गर्दा धेरैपटक धम्की आएको बताउनुभयो । ‘नायक, महानायक र खलनायकहरु झण्डा हल्लाएर हिडिँरहेका छन्’ यादबले भन्नुभयो ‘नेता नमिली कर्मचारीले मात्र एक्लै भ्रष्टाचार गर्न सक्दैन, म बरु जे पनि सहन सक्छु तर सत्यलाई बङ्ग्याएर राजनीति गर्दिन ।’ वाइडबडी प्रकरणबारे अध्ययन गर्न बनाएको उपसमितिका समेत सदस्य रहनुभएका यादबले मन्त्रालयले सही तथ्यांक नदिँदा अलमल भएको पनि बताउनुभयो ।

कार्यक्रममा अच्युत वाग्लेले अनियमितता गर्ने सरकारका अनेक दाउ हुने र त्यसलाई बुझ्न कठीन हुने बताउनुभयो । उहाँले जतिसुकै आयोग र छानबिन समिति बनाएपनि दोषीलाई कारबाही गर्नुको साटो दोषीलाई चोख्याउने काममात्र हुने गरेको दाबी गर्नुभयो ।

आयोजक समिति पार्टीको संसदीय मामिला एवम् राज्य व्यवस्था विभागकी संयोजक तथा पूर्वमन्त्री कल्पना धमलाले सरकार २ तिहाइको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभयो । धमलाले सरकारले जनताको पक्षमा काम गर्नुको साटो भइरहेका बिकासका गतविधि रोक्ने र जनमतको अपहेलना गर्ने गरेकामा आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्