एक शिक्षक, एक सय चौध विद्यार्थी



धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको एक बिद्यालयमा एक सय चौध बिद्यार्थीको लागी एक जना मात्र शिक्षक छन् । सिस्ने गाँउपालिका वडा नं ४ काँडा स्थित प्रगति आधारभुत बिद्यालय एक जना शिक्षको भरमा चलिरहेको छ । ५ कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा दुईजना राहत शिक्षकहरु कार्यरत रहेकोमा एकजना शिक्षकले राजीनामा दिएको ९ महिना पुगिसक्दा पनि पदपूर्ति हुन सकेको छैन ।

शिक्षक दरवन्दी रिक्त भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले गत असार पहिलो साता शिक्षा विकास तथा समन्वय इकाईबाट अनुमति लिएर विज्ञापन गरी शिक्षक भर्ना गर्ने निर्णय गरेपनि अहिलेसम्म अनुमति पाउन नसक्दा समस्या भएको हो । रिक्त रहेको पदमा सिस्ने गाउँपालिका –१ ठूलासिस्नेमा कार्यरत शिक्षिका सुनिता भण्डारी हमाललाई सरुवा गरेर ल्याउने हिसाबले विद्यालयलाई विज्ञापन गर्ने अनुमति नदिएको स्थानीको आरोप छ ।

स्थानीय तहको निर्वाचनमा अहिलेका जनप्रतिनिधिलाई जिताउन सहयोग गरेकोले त्यसको गुण तिर्न नेकपाका स्थानीय नेता ठगेन्द्र हमालकी श्रीमति समेत रहनुभएकी सुतिनालाई सरुवा गरेर ल्याउन खोजेको स्थानीयको भनाई छ । राहतमा कार्यरत शिक्षकहरुको सरुवा गर्न मिल्ने प्रावधान नभएपनि गाउँपालिकाले त्यसविपरीत गर्न खोज्दा विव्यसले अस्वीकार गरेको बताइएको छ ।

गाउँपालिकाले आन्तरिक दरवन्दी मिलान गर्ने विषयमा छलफल चलिरहेकोले अहिले विज्ञापन गर्ने अनुमति नदिन भनेकोले अनुमति रोकिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमले बताउनुभयो । उता गाउँपालिकाले पनि १५÷१६ वर्ष दुर्गममा काम गरेको भन्दै सुनितालाई राहतकै दरवन्दीमा ल्याउन मिल्ने दावी गरेको छ ।

त्यस विषयमा जिल्ला समन्वय समितिले समेत सरुवाका लागि सहजिकरण गरेको र बाहिरबाट शिक्षक ल्याउने भएकोले विज्ञापनको अनुमति नदिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

विद्यालयमा अहिले एकसय १४ जना विद्यार्थीहरु अध्ययनरत रहेकोमा शिक्षक अभावले उनीहरुको पढाई प्रभावित भएको प्रधानाध्यापक हिमलाल खड्काले बताउनुभयो । ‘लामोसमयदेखि अरु शिक्षक नहुँदा एक्लै सबै कक्षा हेर्नुपरेको छ ।’

उहाँले भन्नुभयो, ‘पछिल्लो समय गाउँपालिकाले एकजना करार शिक्षक दिएपछि भने केही राहत भएको छ ।’ गाउँपालिकाले विद्यार्थी अनुपातका आधारमा शिक्षक कम भएका विद्यालयमा करारमा राख्ने अनुमति दिएपछि यस विद्यालयमा पनि मंसिर १ गतेदेखि एकजना नयाँ शिक्षक राखिएको उहाँको भनाई छ ।

शिक्षक अभावले विद्यालयका सहयोगी कर्मचारीले समेत पठनपाठन गराउने गरेको विद्यालयले जनाएको छ । यहाँबाट अन्यत्र पढ्न जान धेरै टाढा भएपछि २०५२ सालमा यो विद्यालयको स्थापना भएको थियो । यहाँबाट अर्को विद्यालय जानुपरेमा सिस्ने गाउँपालिका –४ कै दादिङ पुग्न डेढ घण्टा र यसै वडाको ढाका पुग्न एक घण्टा लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्