राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी



नेपाल समाचारपत्र, दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु आन्दोलित भएका छन् । आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीहरुले आजदेखि आन्दोलित भएका हुन् ।

कर्मचारी संघर्ष समितिको आह्वानमा कर्मचारीहरुले प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै सम्पूर्ण प्रशासनिक कार्यालयमा तालाबन्दी गरेका छन् । मंगलबार सार्वजनिक गरिएको आन्दोलनका कार्यक्रम अनुसार आज बिहान साढे ७ वजे कर्मचारीहरुले तालाबन्दी गरेका हुन् ।

आज प्रशासनिक काम ठप्प पारेका कर्मचारीहरुले भोलि माघ ३ गते इमर्जेन्सी, प्रसुतीबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएका छन् । त्यस्तै आफ्ना माग पुरा नभए माघ ४ गतेदेखि देशव्यापी आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।

राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्ति स्वार्थमा लागेर तानाशाही प्रवृत्ति देखाएको भन्दै ७ दर्जन बढी स्वास्थ्यकर्मी, कर्मचारीहरु आन्दोलित हुँदै आएका छन् ।

आन्दोलित कर्मचारीहरुले कर्मचारीहरुको समायोजन हुनुपर्ने, तवल खुवाउनुपर्ने, सुविधा कटौती गर्न नहुनेलगायतका ८ बुँदे माग राख्दै आएका छन् ।

प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारमा श्रेणी विहिन कर्मचारीहरुको म्याद थप नगरेको साथै चिकित्सकको समेत म्याद थपका लागि आवश्यक सिफरिस नगरेपछि आन्दोलन थालेको संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले जानकारी दिनुभयो । प्रतिष्ठानले तत्काल म्याद थप गरेर समायोजन गर्नुको साटो साविक अस्पताल विकास समिति र सरकारका करार कर्मचारीलाई निस्कासन गर्न पत्र तयार पारेको भन्दै अध्यक्ष गौतमले बाध्य भएर आफूहरु आन्दोलित भएको बताउनुभयो ।

राप्ती उपक्षेत्रीय अस्पतालको अरवांैको सम्पती तथा जिन्सी प्रतिष्ठानमा अटाएको अवस्थामा सोही अस्पतालमा वर्षौंदेखि कार्यरत कर्मचारी निकालिनु दुर्भाग्य भएको अध्यक्ष गौतमले बताउनुभयो । उहाँका अनुसार अस्पतालका कर्मचारीहरुलाई गत साउनदेखि तलव पाएका छैनन् ।

साथै विगतमा अस्पताल सञ्चालन गर्न ल्याइएको औषधि, सर्जिल सामान, ल्याव र एक्सरेको सामान, कार्यालय सामानको समेत व्यापारीलाई भुक्तानी नगरेको पनि अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्