बलात्कार संकट प्रति दक्षिण अफ्रिकी राष्ट्रपतिको चिन्ता



जोहान्नेसवर्ग,(एजेन्सी)
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मुलुककमा बढ्दै गइरहेको बलात्कारको घटनालाई राष्ट्रिय संकट संज्ञा दिँदै पुरुषहरुलाई यसविरुद्ध एकजुट हुन मंगलवार अपिल गरेको स्थानिय संचार माध्यमले जनाएको छ ।
रामाफोसाले भनेका छन् , ‘ महिलाहरुमाथि बलात्कार र हत्याका घटना निरन्तर घटिरहेको छ । यस्तो लैंगिक हिंसालाई तत्कालै समाप्त गर्नुपर्ने बेला आइसकेको छ । ’ आगामी चुनावका लागि आफ्नो पार्टी अफ्रिकन नेशनल कांग्रेसको घोषणापत्र जारगर्ने क्रममा राष्ट्रपति रामाफोसाले यस्तो अपिल गरेका हुन् ।

दक्षिण अफ्रिकामा हरेक वर्ष चालिस हजारभन्दा बढी बलात्कारका मुद्दा दर्ता हुने गरेका छन् । तर दक्षिण अफ्रिकामा हुने बलात्कारका घटनाको यो पूरा तथ्यांक भने होइन ।

सन् २०१७–१८ मा दक्षिण अफ्रिकामा पुलिसले बलात्कारको चालिस हजार पैंतिस मामला दर्ता गरेका थिए । यस हिसाबले दैनिक करिव एक सय दस घटना घटेको मान्नुपर्दछ । अघिल्लो वर्षको तुलनामा यो संख्या धेरै भएको बताइएको छ ।

महिला अधिकारवादी अभियन्ताहरुका अनुसार यो संख्या वास्तविक स्थितीको तुलनामा अत्यनतै कम रहेको छ भने यसले देशमा बलात्कारको संकटको वास्तविक प्रतिनिधित्व गरेको छैन ।

राष्ट्रपति रामाफोसा डर्बानमा आफ्ना हजारौं समर्थक उपस्रिंगशालामा भाषण दिने क्रममा तिनीहरुलाई महिला अधिकारको समर्थनमा एकजुट हुन र देशमा बलात्कारको घटनालाई निन्दा गर्न समेत अपिल गरेका छन् ।

उनले भनेका छन्, ‘ हामीले समाजमा महिलाको स्थिती सुधार्ने दिशामा ठूलो प्रगती गरिसकेका छौं । यति हुँदाहुँदै पनि लिंगमा आधारित हिंसा राष्ट्रिय संकट बनेको छ । हामी यसलाई समाप्त गर्न हामी प्रतिबद्ध छौं । दक्षिण अफ्रिकाका सबै महिला शान्त, सुरक्षा र सम्मानका साथ बाँच्न सकून् भन्ने सरकारको इच्छा छ। ’

उनले उद्देश्य हाँसिल गर्नका लागि उठाइने कदमबारे पनि जानकारी दिने क्रममा महिलाविरुद्ध हिंसा गर्नेहरुलाई सुरुमा कडा सजाय दिइने र यस्तो घटनाको अनुसन्धानका लागि प्रहरीलाई उत्कृष्ट तरिकाले अपराधी समात्ने प्रशिक्षण दिइने बताएका छन् ।
सन् १९९९ मा दक्षिण अफ्रिकामा एउटा बिमा कम्पनीले ‘बलात्कार पीडित नीति’ नै सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्