आज ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’



काठमाडौं । २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस बुधबार विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । १९९० माघ २ गते नेपालमा गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

नेपालमा विभिन्न समयमा गएका ठूलासाना थुप्रै भूकम्पले जनधनमा ठूलो क्षति पुर्याएको छ । २०७२ साल बैशाख १२ गते गएको अर्को ठूलो भूकम्पले पुर्याएको क्षतिबाट मुलुक अझै सम्हालिन सकेको छैन । हजारौं नागरिकको मृत्यु, हजारौं अंगभंग र घाइते तथा लाखौं नागरिक एकसाथ घरवारविहीन बनाएको बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणले अझै गति लिन सकेको छैन ।

पुनर्निर्माण प्राधिकरणमा भइरहेको दलीयकरणले वास्तविक पीडितसमक्ष राज्यको उपस्थिति हुन सकेको छैन । भूकम्प गएको तीन वर्ष हुन लाग्दा पनि भूकम्प प्रभावितलाई दिइने भनिएको अनुदान रकम सबैमा पुगेको छैन । सुस्त र गतिहीन प्रशासन एवं राजनीतिकरणले पुनर्निर्माणको काम प्रभावित बनेको हो । भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा नेपाल अनि आसपासका क्षेत्रमा विध्वंशात्मक रुपमा आई नै रहेको छ । १९९० सालको भुकम्पबाट लथालिङ्ग र भताभुङ्ग भएको नेपाल र नेपाली तंग्रिन नपाउँदै २०७२ सालमा नेपालीले पुनः एकपटक महाविनाशकारी भूकम्पको सामना गर्नुपर्यो ।

भूकम्प एउटा प्राकृतिक प्रकोप हो र यसलाई रोक्न नसकेपनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट न्यूनिकरण गर्न भने सकिन्छ । भूकम्पले हल्लाएका सांस्कृतिक सम्पदाको जग अनि गाह्रोहरु पुनः ठडिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्