बासुदेवको सम्झनामा सहयोग र सम्मान



लोकप्रिय रेडियो कार्यक्रम सञ्चालक तथा गायक स्व. बासुदेव मुनालको स्मृतिमा गठित बासुदेव कोइराला मुनाल मेमोरियल फाउन्डेशनले सहयोग तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।

फाउन्डेशनले उदयपुर जिल्लाको चौदन्डीगढि नगरपालिका–१, चौदन्डीगढिमा सहयोग तथा सम्मान कार्यक्रम आयोजना गरेको हो। चौदन्डीगढिको शारदा माध्यमिक विद्यालय प्रांगणमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी, गरिब तथा असहायका साथै जेष्ठ नागरिक गरी करिब १ सय जनालाई ब्ल्यांकेट, ज्याकेट र खाद्य सामाग्री प्रदान गरिएको थियो। फाउन्डेशनका अध्यक्ष तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्र कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रदेश–१ का सभासद बिमल कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो। बासुदेव मुनालको जन्मस्थान र उनले अध्ययन गरेको विद्यालयबाट फाउन्डेशनले सहयोगको कार्यक्रम सुरुआत गरेको फाउन्डेशनका अध्यक्ष कोइरालाले बताए।

देशको कला र संस्कृतिमा आफ्नो जीवनभर उल्लेखनीय योगदान दिएका स्व. मुनालको स्मृतिमा गठित फाउन्डेशनले आगामी दिनमा अन्य विभिन्न ठाउँमा यस्तै तथा योभन्दा बढी सहयोग गर्ने जानकारी पनि उनले दिए। उनका अनुसार आगामी असार २६ गते उनको जन्मदिनको अवसर पारेर फाउन्डेशनले कुनै पनि क्षेत्रको बहुप्रतिभाशाली अथवा कुनै पनि क्षेत्रमा विशेष योगदान दिएका प्रतिभाशाली व्यक्तिलाई विशेष सम्मान गर्ने निर्णय गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्