मेगा बैंकले विदेशी रणनीतिक साझेदार भित्र्याउने



????????????????????????????????????

काठमाडौं, (नेस)
मेगा बैंक नेपालले शेयरधनीका लागि बोनस शेयरसहित ७ दशमलव ८५ प्रतिशत लाभांश पारित गरेको छ । सोमबार सम्पन्न बैंकको आठौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४÷७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकममध्येबाट हाल कायम चुक्ता पुँजीको ६ दशमलव ८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपियाँ ५९ पैसा नगद लाभांश पारित गरेको हो ।

सभाले चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपियाँ ८० पैसा बोनस शेयर पनि पारित गरेको छ ।
बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो ।

साधारणसभापछि बैंकका अध्यक्ष शाहले भन्नुभयो–‘हामीले मेगा बैंकलाई संघीयताको ढाँचामा लगिसकेका छौं । सोही अनुरुप बुटवलमा आफ्नै प्रादेशिक कर्पोरेट कार्यालय भवनको शिलान्यास भई भवन निर्माण कार्य अघि बढाएका छौं । केन्द्रीय कार्यालय भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको छ ।’

मेगा बैंकले मर्जरको ढोका पनि खुल्ला राखेको छ । मेगा बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था एक आपसमा मर्ज गर्न तथा एक्विजिसनका लागि बैंकको चल–अचल सम्पत्ति, दायित्व तथा कारोबारको पछिल्लो मँल्यांकन गर्न मुल्यांकनकर्ता नियुक्त गर्न साधारण सभाले अनुमति दिएको छ ।

टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंक पुँजीका हिसाबले देशकै दोस्रो ठँलो वाणिज्य बैंक बन्न सफल भएको छ । आर्थिक बर्ष २०७४÷७५ को बोनस शेयर बाँडफाँडपछि चुक्ता पुँजी १० अर्ब ३८ करोड रुपियाँ पुग्ने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ३ अर्ब १५ करोड रुपियाँले वृद्धि भई ६६ अर्ब १२ करोड रुपियाँ पुगेको छ । यसैगरी, खुद कर्जा ५ अर्ब १३ करोड रुपियाँले वृद्धि भई ६२ अर्ब २५ करोड रुपियाँ पुगेको छ । गत त्रैमासिकमा बैंकले ४० करोड ४६ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्