छाउ बन्द गर्न कडा कानून चाहियो



देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण जाजरकोटका अधिकांश घरका महिला महिनावारी हुँदा छाउ बार्ने गरेको पाइएको छ ।

जिल्लाका केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने प्रचलनका कारण धेरै महिलाको ज्यान समेत गएको छ । परम्परागत सोच र सामाजिक परम्पराको दवाबमा छाउगोठमा बस्ने प्रचलन अशिक्षित मात्रै होइन शिक्षित वर्गमा पनि व्याप्त रहेको छ । छाउगोठ बस्दा चिसोले समस्या हुने मात्रै होइन सर्पले टोकेर समेत कतिपय महिलाले अकालमा ज्यान समेत गुमाउन पुगेका घटना भएका छन् । केही समयअघि छाउगोठमा निसास्सिएर दुई बालक छोरासहित आमाको मृत्यु भएको थियो । महिनावारी महिलाको प्रजनन स्वास्थ्यमा हुने एक सामान्य प्रक्रिया हो, यसलाई अशुभ मान्ने प्रचलनका कारण महिला तथा बालबालिकाको ज्यान जाँदा छाउगोठ हटाउन नसक्नु लज्जाको विषय हो ।

देउती रिसाउँछिन् भनेर पुरुषहरुले नै महिलालाई गोठमा जान बाध्य पार्ने प्रचलन जबसम्म हटाउन सकिदैन तबसम्म महिला तथा बालबालिकाहरु सुरक्षित जीवनयापन गर्न पाउँदैनन् । पुरुषमा रहेको असामाजिक चेतनालाई सबैभन्दा पहिला निर्मुल पार्न जरुरी छ । जनप्रतिनिधिदेखि शिक्षक, राजनीतिक दलका परिवारमा समेत महिनावारी हुँदा बाहिर सर्ने चलन विगतदेखि नै चलिआएको नागरिक अगुवा बताउँछन् । आफ्नो गाउँठाउँलाई परिवर्तनको दिशातिर उन्मुख गराउने प्रतिवद्वता जनाएका जनप्रतिनिधिले छाउगोठमा बस्नुपर्ने बाध्यतात्मक अवस्था हटाउन नसक्नु लोकलाजको विषय हो । जबसम्म शिक्षित वर्ग र जनप्रतिनिधिहरुले छाउगोठमा बस्ने कुप्रथालाई हटाउन सचेतना भूमिका खेल्न सक्दैनन् तबसम्म मानव विकासले गति लिन सक्दैन ।

जबसम्म मानव विकास हुदैन तबसम्म आफ्नो गाउँठाउँको विकास हुने पनि संभावना हुँदैन । विज्ञानले दुनियाँलाई डिजिटलाइज गरेको युगमा पनि महिनावारी हुँदा छाउगोठमा बस्नु पर्ने प्रचलनले नेपालीको मानव विकास कुन गतिमा छ भन्ने पनि प्रष्ट पारेको छ । अशिक्षित वर्ग त चेतनाको कारण छाउगोठ बस्नु सहज भएपनि शिक्षित वर्गनै यसलाई मलजल गर्न तल्लीन हुनु भने आफ्नो खुट्टामा आफै बञ्चरो प्रहार गर्नु हो ।

अर्काेतर्फ विद्यालयमा लाजका कारण स्वास्थ्य तथा शारीरिक विषयसमेत राम्रोसँग पढाइ नहुँदा अर्को समस्या आएकोमा कसैको पनि दुईमत छैन । देशका दुर्गम क्षेत्रमा प्रजनन स्वास्थ्यको विषयमा सहज रुपमा पठनपाठन पनि हुन नसकेको थुप्रै उदाहरण छन् । स्वास्थ्यका शिक्षकले खुलेर प्रजनन स्वास्थ्यका विषयमा कक्षा लिन र दिन नसक्दा व्यवहारमा लागू हुने कुरा पनि भएन । उमेर बढ्दै जाँदा शरीरमा देखापर्ने विभिन्न खालका परिर्वतनका विषयमा शिक्षकले कक्षामा पढाउन खोज्दा छात्रा टाउको निहु¥याएर बस्ने र छात्रहरूले हाँसेर उडाउँने प्रचलन कायम छ ।

विद्यालयमा पढाएका कुरा स्वयं शिक्षकले घरमा लागू गर्न नसक्नु अर्को दुर्भाग्य हो । शिक्षा दिने शिक्षक शिक्षिकाले महिनावारीको विषयमा घरमै व्यवहारिक रुपमा लागू गर्न सक्दैनन् तबसम्म छाउगोठ बस्ने प्रचलन हट्ने कोरा कल्पना मात्र हुनेछ । छाउगोठले धेरै महिला र बालबालिकाको ज्यान लिएको देख्दा पनि अन्धो बन्ने प्रवृत्ति तबसम्म हामीले त्याग्दैनौ तबसम्म यसको कहरले ज्यान लिइरहन्छ ।
पार्वता सुनार, पाल्पा ।

गुटबन्दी र फुटबन्दी घातक
नेपालका राजनीतिक दलहरुमा गुटबन्दी हुँदै फुट्ने रोग नौलो होइन । प्रमुख राजनीतिक दलमात्रै होइन, राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका साना दलहरु पनि आन्तरिक गुटबन्दीमा फसेका छन् । कांग्रेस, एमाले र माओवादीभन्दा फरक शैलीमा राजनीतिमा उदाएका दुई वैकल्पिक शक्तिहरु विवेकशील पार्टी र साझा पाटी एकापसमा मिलेर समाज बदल्ने जुन लक्ष्य लिएर २०७४ साउन ११ गते एकजुट भएका थिए, जनतामा केही उत्साह र आशाको सञ्चार भएको थियो । भलै उज्ज्वल थापाको विवेकशील र रवीन्द्र मिश्रको साझा पार्टी मिलेर बनेको विवेकशील साझा पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त नगरे पनि निर्वाचनमा हासिल गरेको जनमतले प्रमुख राजनीतिक दलका निम्ति चुनौती थपिएको थियो । तर, सो पार्टीमा स्वतःस्र्फूत आकर्षित भएका युवा पुस्ता र जनताको आशा अहिले निराशामा परिणत भएको छ ।

 

विवेकशील साझाले केही गर्छ भन्ने आशा र विश्वासमाथि तुषारापात भएको छ । परम्परागत राजनीतिक दलहरुकै अनुसरण गर्दै उज्ज्वल थापा नेतृत्वको पूर्व्विवेकशीलका १६ जनाले निर्वाचन आयोगमा छुट्टै दल दर्ता गराएको खबरले यतिबेला सबैलाई चकित पारेको छ ।

नेपालका पुराना दलहरुप्रति जनताको निराशा बढेर गएको परिप्रेक्ष्यमा नयाँ वैकल्पिक शक्तिको रुपमा दरिएका दलका नेताहरुबीच बढेको अन्तर्संघर्ष अहिले छताछुल्ल भएर पोखिएको छ । पार्टी्भित्र नीतिगत मतभेदबारे छलफल नै नभईकन विवेकशील साझा पार्टी विभक्त हुनु दुर्भाग्यपूर्ण छ । हरेक पार्टीमा गुटबन्दीको रोग नयाँ होइन । अहिले गुटबन्दी रोगको संक्रमणले विवेकशील साझालाई पनि आक्रमण गरेको मात्र हो ।

प्रायः सबै दलका नेताहरुले गुटबन्दी अन्त्य गरी पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता जनाउने गरे पनि व्यवहारतः कार्यान्वयन भने हुन सकेको पाइँदैन । गुटबन्दीले दललाई कमजोर बनाउनेमात्र होइन, व्यक्तिगत मनोमानीसमेत बढाउने गर्छ । केही समयअघि नेकपामा ओली सरकारको कार्यशैली र मनोमानीप्रति वरिष्ठ नेता माधवकुमार नेपाल निकै आक्रामकरुपमा प्रस्तुत भए । पूर्वप्रधानमन्त्रीसमेत भइसकेका नेपालले नेकपामा संस्थागत निर्णय हुन नसकेको, संस्थागत पक्षबाटै चरम गुटबन्दी भएको आरोप लगाएका थिए । पार्टी्भित्र आन्तरिक गुट तथा उपगुट सक्रिय हुने गरे पनि प्रक्रियागत ढंगले पार्टी्भित्र संस्थागत निर्णय नगर्ने रोग झनै बढेर गएको छ । यसले लोकतन्त्रलाई नै कमजोर बनाउने काम गरेको छ ।

नेपालमा नेतृत्वको होडबाजीकै लागि गुटगत राजनीतिले सबै पार्टीलाई नराम्ररी गाँजेको छ । गुटबन्दी मौलाउनुको अन्तर्य नेतृत्वमा पुग्नु नै हो । अहिले नेपाली कांग्रेसमा यो रोग निकै बढेर गएको छ । आगामी नेतृत्वको होडबाजीका कारण यो रोग अझै बढेर जाने देखिएको छ । सबै नेताहरुले आआफ्नै स्वार्थअनुकूल गुटबन्दीको राजनीति गरिरहेकै छन् । दलभित्र देखिएका आन्तरिक गुटबन्दी अन्ततः सत्ता–संघर्षसँग जोडिने गरेका छन् ।

गुटबन्दीले कुनै एक नेता वा व्यक्तिका हकमा फाइदा पुगे पनि राजनीतिक मूल्यमान्यता, विधिको शासन, पारदर्शिता र संस्थागत निर्णयका आधारमा नेतृत्व गर्नेका हकमा भने प्रत्युत्पादक बन्न सक्छ । गुटबन्दीले राजनीतिक दललाई चिराचिरा बनाएको दृष्टान्त एक दसक लामो जनयुद्ध गरेर आएको माओवादी पार्टीलाई हेर्दा पनि हुन्छ । माओवादीबाट अलग भएर डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोले । अन्ततः माओवादी एमालेसँग सहकार्य गरेर नेकपा बन्न पुग्यो । अहिले नेकपा, कांग्रेस, राजपा, राप्रपालगायत जुनसुकै दलमा पनि गुट मौलाइरहेकै छ । नेतृत्वलाई थप जिम्मेवार बनाउन कुनै बेला समूहको दबाब निर्णायक बन्न सक्ला । तर, सत्ता–संघर्ष वा नेतृत्वका लागि फुट आउनु उचित होइन । एकतामै शक्ति हुन्छ भन्ने यथार्थ सबैले मनन गरेर फुटको राजनीति अन्त्य गर्नु जरूरी देखिन्छ ।
सिदीप भण्डारी, हाल पुल्चोक ललितपुर ।

 

प्रतिक्रिया दिनुहोस्