महिला क्रिकेट: नेपाल युएईलाई पराजित गर्दै सेमिफाइनलमा



काठमाडौँ ।
थाइल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास २०१९ क्रिकेट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेटस् ९युएई०लाई पराजित गर्दैे सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा चीनलाई १० विकेट र आइतबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

पहिले ब्याटिङ् गरेको युएईले नेपाललाई १०६ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा सिता राना मगरले सर्वाधिक ३७ रनको योगदान दिइन् भने काजल श्रेष्ठले २५ तथा इन्दु बर्माले १३ रन जोडिन् । त्यस्तै कप्तान रुबिना क्षेत्री १० रनमा अविजित रहँदा नेरी थापाले ६ रन जोडिन् । बलिङतर्फ युएईकी इशा ओजा, हुमाइरा तास्निम र चमानी सिनेभिरात्नेले समान एक÷एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रनको योगफल बनाएको थियो । उसका लागि छायाँ मुगालले ३१, इशा ओजाले २८ तथा चमानी सिनेभिरात्नेले अविजित २३ रन जोडिन् । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सोनु खड्का, सिता रानामगर र करुणा भण्डारीले एक÷एक विकेट लिए । जितसँगै नेपालले ३ खेलबाट ६ अङ्क जोडेको छ । नेपालले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब नेपालले समूह चरणको अन्तिम खेल बुधबार थाइल्याण्डसँग खेल्नेछ ।
रासस

प्रतिक्रिया दिनुहोस्