‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’ मा महजोडी समेत



भगवती तिमल्सिना, काठमाडौं ।
क्यान्सर रोगको लागि उपचारपछि निको भएकाहरुले सकारात्मक सन्देश प्रवाह गरि क्यान्सर पिडितलाई लुकेर हैन खुलेर उपचार गरौंं भन्ने सन्देश दिनका नेपालमा पहिलोपल्ट आयोजना गरिएको ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’ मा क्यान्सर जितेका व्यक्तिदेखि चर्चित हाँस्य कलाकारद्वय महनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, क्यान्सर विशेषज्ञ डाक्टर र कलाकारहरु पनि र्याम्पमा उत्रेपछि ‘र्याम्प शो’ अत्यन्त आर्कषक र मनोरञ्जनयुक्त बन्यो ।

मनोरञ्जनात्मक रुपमा सन्देश फैलाउँदा मानिसले सजिलै बुझ्ने र जीवन मा सजिलै लागु गर्न सकिने भएकाले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिको सहयोग तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित सो र्याम्प शोमा क्यान्सरको उपचार गराईराखेका ८ वर्षे वालक, १४ वर्षिया किशोरीदेखि क्यान्सर निको भईसकेका ५० वर्षसम्मका २ दर्जन महिला र पुरुषको सहभागिता रहेको थियो ।

सहभागीहरु पुरुषको तुलनामा महिला बढी थिए । विभिन्न जातजातिका भेषभुषमा सजिएका महिलाहरुले मूलत मनोरञ्जनका साथ क्यान्सरका बिरामीलाई उपचारका लागि समयमै चिकित्सकको सल्लाह अनुसार अघि बढे क्यान्सर रोग निको हुन्छ र विगतमा जस्तै सामान्य जीवन जिउन सकिन्छ भन्ने सन्देश दिएका थिए ।

कला र संस्कृतिको धनी देश नेपालमा जो कोहीको मन र मुटुमा रहेको सुमधुर सांगितिक माहौलका साथ आयोजित भव्य र्याम्पमा नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठ तथा र्याम्प कार्यक्रमकी संयोजक तथा अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठको जोडीदेखि सो अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञ डा. गिसुपनिख प्रसिको, मिस नेपाल कार्यक्रमको आयोजक हिड्न ट्रेजरका संस्थापक गोपालसुन्दर लाल कक्षपतिको जोडी, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजन र उपप्रमुख गिता सत्याल, वरिष्ठ फोटोग्राफर राजभाई सुवालसमेतको सहभागीता थियो ।

‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’की कोरियोग्राफर तथा क्यान्सर जितेकी सफल र साहसी व्यवसायी महिला डली गुरुंग आफैं पनि र्याम्पमा हिँडेकी थिइन् भने नायक आयुस्मान देशराज जोशी र कुनै समयकी चर्चित नायीका सनी रौनियार पनि र्याम्पमा उत्रीनुले कार्यक्रम निकै रोमाञ्चक बनेको थियो ।

यो कार्यक्रमले क्यान्सर रोगीको आत्मबल बढाउनुका साथै ‘क्यान्सर ठुलो रोग होइन, समयमै उपचार गरे निको हुन्छ, क्यान्सरपछिको जीवन थप महत्वपूर्ण छ’ भन्ने सन्देश दिन नेपालमै पहिलोपल्ट र्याम्पको आयोजना गरिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताउँनुहुन्छ ।

नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले समयमै उपचार गरे जस्तोसुकै क्यान्सर निको हुने उल्लेख गर्दै नेपालमै अब सबैथरीका क्यान्सररोगको अत्याधुनिक प्रविधिबाट निदान र उपचार हुने बताउनुभयो ।

वरिष्ठ हाँस्य कलाकार महनकृष्ण श्रेष्ठले आफुले पनि आफ्नी श्रीमतीको क्यान्सर उपचार गरेर ६ वर्षसम्म क्यान्सरलाई जितेर श्रीमती लाई बचाउन सकेकोले रोग नलुकाउन सबैसंग आग्रह गर्नुभयो ।

अर्का वरिष्ठ हाँंस्य कलाकार हरिवंश आचार्यले शरीर भनेको मुलुक हो र क्यान्सर भनेको आतंककारी हो भन्दै आतंककारीलाई परास्त गरेझैं क्यान्सरलाई पनि शरीरबाट परास्त गर्नुपर्ने सुझाव दिनुभयो ।

मिस नेपाल श्रृंखला खतिवडाले नेपालमै सबैप्रकारको क्यान्सरको उपचार गर्ने स्तरीय अस्पताल रहेको चर्चा गर्दै अरु रोगजस्तै क्यान्सर पनि समयमै उपचार गरे निको हुन्छ यो कुनै पाप या लुकाउनुपर्ने रोग नभै शरिरमा अनावश्यक सेल बढेर हुने रोग भएकाले शुरुमै त्यस्ता सेललाई चिकित्सकको सल्लाह अनुसार निस्कृय पारेर आफ्नो जीवनलाई सकृय बनाउन सकिन्छ भन्नुभयो ।

वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, ललितपुर महानरगपालिकाका प्रमुख चिरीबाबु महर्जन तथा क्यान्सरको उपचार गराईराखेका ८ वर्षे बालक लियन अवालेले रयाम्प शोको संयुक्त रुपमा उ्दघाटन गर्नुभएको थियो ।

क्यान्सरको उपचार गराईराखेकी भक्तपुरकी साहसी युवती दिक्षा हाडाले ‘समपर्ण तिमीलाई’ गीत गाएकी थिइन भने गणेश वन्दनाबाट कार्यक्रम शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगो तथा उहाँकी धर्मपत्नि एरिको साइगोलगायत विभिन्न मुलुकका राजदूत, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें, विशिष्ट व्यक्तित्व, क्यान्सर उपचार गराईराखेका व्यक्ति तथा उहाँहरुका परिवारका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्