आज मौसम खराब हुने अनुमान



काठमाडौं । चिसो बढी भएको समयमा मौसम खराब हुँदा सर्वसाधारणलाई झनै समस्या हुन्छ । घामको तातोले अलिकति सहारा दिने भएपनि बादल र वर्षाका कारण चिसो झनै बढ्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी पहाडी भेगको मौसम भने सामान्य बद्ली भएको छ ।

मौसमविद् समिर श्रेष्ठले दिउँसो पश्चिम पहाडी भेगमा वर्षा हुने सम्भावना रहेको बताए । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ ।

भारतको उत्तर प्रदेशमा बनेको न्युनचापीय प्रणालीका कारण पश्चिमी भेगमा पानी पर्ने सम्भावना भएको हो । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै हुने उनको भनाइ छ ।

अहिले काठमाडौंसहित देशका धेरैजसो ठाउँको मौसम सफा रहेको छ । काठमाण्डौमा शनिबारभन्दा आइतबारको तापक्रम घटेको छ ।

शनिबार काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आईतबार घटेर न्युतनतम तापक्रम ३ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्