आज प्रतिनिधिसभा बैठक, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आइतबार मध्याह्न १२ बजेबाट शुरु हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुहुने कार्यसूची छ । यस्तै, आजको बैठकमा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

गृहमन्त्री रामबहादुर थापा बादलले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’ प्रस्तुत गर्नुहुनेछ भने न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।

यस्तै, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने मन्त्री बस्नेतले नै ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अर्थ समितिको प्रतिवेदन सहितको निवृत्तभरण कोष विधेयक, २०७५ माथि छलफल गरियोस्’ र ‘निवृत्तभरण कोष विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मन्त्री खतिवडाले नै ‘अर्थ समितिको प्रतिवेदन सहितको भुक्तानी तथा फर्स्यौट विधेयक, २०७५ माथि छलफल गरियोस्’ र ‘भुक्तानी तथा फर्स्यौट विधेयक, २०७५ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्