आफ्नै पौरखमा बाँचेकाहरुको कथा



प्रकाश पन्त, वीरेन्द्रनगर
सुर्खेत बीरेन्द्रनगर बसपार्कको छेउमै बस्दै आएका मयप्रसाद जैसी र उनकी श्रीमति रेणुका दुवैजना दृष्टिविहीन हुन् । पाँच वर्ष अघिसम्म मागेरै गुजारा चलाएको बताउने यो जोडी अहिले अरुको सहारामा नभई आफ्नै पौरखमा बाँचिरहेको छ । भाँडा धुने सरफ उद्योग संचालन गरेका उनीहरु आँखाले धोका दिए पनि पौरखले जीवन फेरिएको बताउँछन् ।

शारीरिक रुपमा अपाङ्गता भएर पनि आप्mनै पौरखमा समृद्ध जीवन जीउने यो एक्लो जोडी होइन । उनीजस्ता थुप्रै अपाङ्गता भएका व्यक्तिहरु इलम गरेर रमाइरहेका छन् । उनीहरु अरुको लागि प्रेरणाको पात्रसमेत बनेका छन् ।
जैसी दम्पत्तिको संर्घषको कथाले जोकसैलाई जीवन जीउन ऊर्जा दिन्छ । आर्थिक अभावले जीवन निर्वाह गर्न निकै कठिन भएपछि २०७० सालमा उनीहरुले सरफ बनाउने उद्योग खोलेका थिए । अहिले यही उद्योग आफुहरुको लागि जीउने गतिलो आधार बनेको रेणुकाले बताइन् ।

उनीहरुलाई घरेलु तथा साना उद्योग कार्यालयले सीप विकास तालिम र बीरेन्द्रनगर नगरपालिकाले उद्योग सञ्चालन गर्न ३० हजार रुपैयाँ सहयोग गरेको थियो । नगरपालिकाले दिएको पैसाबाट ग्रेडिङ मेसिन किनेर सरफ बनाउन थालेको रेणुकाले बताइन् ।

वीरेन्द्रनगर–१०, बुदबुदीका नन्दप्रसाद चौलागाइँको कथा पनि कम प्रेरणादायी छैन । बीरेन्द्रनगरमै मिठाइको बक्स बनाउने उद्योग संचालन गदै आएका उनको भौतिक जीवन ह्वीलचेयरको सहारामा चल्छ । तर, उनीभित्रको मिहिनेत र ऊर्जाले भने समाजलाई नै सकारात्मक यात्रामा अघि बढ्न सघाइरहेको छ । उद्योगबाट महिनामा १५÷१६ हजार रुपैया आम्दानी गर्दै आएको बताउँने नन्दप्रसाद अपाङ्गता भएका व्यक्तिलाई हिक्मत नहार्न सुझाव दिन्छ ।
जन्मँदै दुवै हातका औंला नभएका रामबहादुर चौधरीको सीप देख्दा जोकोही चकित पर्छन् । उनले वीरेन्द्रनगर बजारको हटियालाइनमा स्टोभ मर्मत पसल सञ्चालन गरेका छन् । स्टोभ, प्रेसर कुकर र ग्याँस मर्मत गरेर महिनामा ३० हजार रुपैया कमाउने गरेको उनी बताउँछन ।

बीरेन्द्रनर–१०, नयाँगाउँका माघुराम चौधरी पनि जन्मदै शारीरिक रुपमा अपाङ्गता भएर जन्मिए । अहिले उनी आफ्नै पौरखमा जीवन निर्वाह गरिरहेका छन । उनी ८ वर्षदेखि मुडा बनाएर बेचिरहेका छन् । तालिम नलिँदासम्म उनले निकै आर्थिक संकट भोगे । अहिले मुढा बेचेरै मासिक १२ हजार रुपैयाँ कमाइरहेका छन् । ‘यही पैसाबाट तीन जनाको परिवार पालिरहेको छु,’ उनले भने, ‘हातमा सीप भए कसैको सहारा चाहिँदैन ।’

जन्मँदै दृष्टिविहीन रेणुका र जलविन्दुले १५ वर्षअघि दुवै आँखाको ज्योति गुमाएका मायाप्रसाद अरु दृष्टिविहीनका लागि पनि प्रेरणा बनेका छन । उनीहरुकै प्रेरणाबाट अपाङ्गता भएका अरु व्यक्तिहरुले समेत आत्मनिर्भरको बाटो अंगाल्न थालेका छन ।

अपाङ्ग सशक्तिकरण केन्द्रका अनुसार सुर्खेत जिल्लामा करिव १५ हजार भन्दा बढी अपाङ्गता भएकाहरू छन । तीमध्ये करिब एक हजार पाँच सय जना अहिले आत्मनिर्भरता छन् । केन्द्रका अध्यक्ष विष्णुप्रसाद शर्मा शारीरिक रुपमा अपाङ्गता भएका यस्ता इलमी व्यक्तिहरुको कारण समाजमा सकारात्म सन्देश गएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्