दिवसको अर्थ



शुक्रवार पृथ्वी जयन्ती, यही दिनलाई राष्ट्रिय एकता दिवस पनि भन्छन् क्यार । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै पुस २७ र केही दिन अघिपछि उनको गुनगान गाउनेहरु निकै देखिन्छन्÷भेटिन्छन् । शाहको आलोचना गर्नेहरु पनि निकै बाक्लै छन् ।

शाह महान हुन् भन्दै सार्वजनिक विदा माग्ने र उनी विस्तारवादी भन्दै विदाको ‘ब’ समेत उच्चारण गर्न हिचकिचाउनेहरुको जुहारी वरिपरी दिवस सीमित हुँदै आएको छ एकता दिवसले सबै जात, जाती, धर्म, वर्ण, लिङ्ग अनि विविध राजनीतिक आस्था राख्नेलाई पनि एकताको सन्देश दिएको भन्नेहरुको कमी छैन ।

तर यही दिवसकै दिन कान्छो दल मध्येको एक विवेकशिल साझा दुई चिरा भएको छ । सो दलका नेता मिश्र र थापाको तनमन अर्कैतिर भएसी दल मिल्ने कुरै भएन । दिवसमै दल चिरिएसी न रह्यो विवेक न भयो साझा । जुझारु युवाको जमातले जुटाएको दल भनिए पनि सो दल त दलदलमा पो प¥या रैछ, ढिलै भएनी कुरो थाहा भो ।

पार्टी गठन गर्नु र सही ढंगले नेतृत्व लिनु फरक कुरा हो, धरहराले बुझ्या यहि हो । तर कहिले काहिँ लाग्छ मुलुकको हावापानी नै उस्तो हो कि क्या हो, नफुट्या दल कुनै छैनन् । यसरी दल एकता दिवसकै दिन फुटेसी दिवसको अर्थ के नै भो र ? अब कुन दिन हाम्रा पीएमले भन्न बेर छैन–‘यस्तै हुन्छ भनेर सरकारले सार्वजनिक विदा नद्या ।’

प्रतिक्रिया दिनुहोस्