छाउपडी प्रथा बन्द होस



छाउपडी प्रथा समाजलाई पछाडि पार्ने एक अन्धविश्वास हो । यसैका कारण मध्य तथा सुदूरपश्चिमका जिल्लाहरुमा कैयौँ महिला अनाहकमा जीवन गुमाउन बाध्य छन् । गत सोमबार बाजुराको बूढीनन्दा गाउँपालिका–९ स्थित भोगीचौरमा छाउ बार्ने क्रममा अम्बा बोहोरा र उनका दुई कलिला छोराको आगोमा जलेर मृत्यु भएको विदारक खबर सार्वजनिक भयो । जाडोको समयमा छाउगोठमा आगो बालेर सुत्दा निसास्सिएर उनीहरुको अनाहकमा ज्यान गयो । सरकारले नयाँ युगमा प्रवेश गरेको प्रचार गरिरहँदा यही देशको एक जिल्लामा यस्तो पीडादायक घटना भएको छ । छाउगोठको कुसंस्कारले ज्यान गुमाउने बोहोरा एक पात्रमात्रै हुन् । सुदूरपश्चिममा महिनावारी हुँदा बारिने छाउपडी प्रथा अझैसम्म उन्मूलन हुन सकेको छैन । यही प्रथाका कारण बर्से्नि छाउगोठमा सर्पले टोकेर, आगोले जलेर, निस्सारिएर मृत्यु भएका अप्रिय खबरहरु सार्वजनिक हुँदै आएका छन् ।

महिलालाई आधा आकाशसँग जोडेर विशेषण प्रदान गर्ने गरिन्छ । तर, यही आधा आकाश ओगट्ने महिला मुलुकको शक्तिशाली पदमा पुगेका मात्रै छैनन, राष्ट्रनिर्माणमा योगदानसमेत दिइरहेका छन् । संविधानले पनि महिलालाई अधिकारसम्पन्न बनाएको यस स्वर्णिम तथा मह¤वपूर्ण समयमा मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा देउता रिसाउने अन्धविश्वास अंगालेर महिनावारी बार्ने नाममा छाउगोठमा बसेर महिलाहरु ज्यान गुमाउन बाध्य हुनु कस्तो विडम्बना हो ?

मध्य तथा सुदूरपश्चिमका धेरै गाउँलाई छाउपडीमुक्त घोषणा गरिए पनि त्यस क्षेत्रका महिलाको अवस्थामा भने कुनै परिवर्तन आउन नसकेको दृष्टान्त हो– बाजुराको अम्बा बोहोरा र छोराहरुको ज्यान गएको घटना । छाउपडीमुक्त घोषणा गरिएका गाउँमा पनि महिलाहरु रजस्वला हुँदा गाईभैँसीसँगै सुत्नुपर्ने नियति अद्यापि छ । यस्तो लज्जास्पद र अवैज्ञानिक पद्धतिलाई पनि संस्कारका रूपमा अनुशरण गर्दै अकालमा मर्नुपर्ने बाध्यता नयाँ युगको पटाक्षेप हो । महिला रजस्वला हुने नियमित प्रक्रिया हो । यस्तो प्रक्रियालाई लिएर अपहेलित गरिनु, मानवसभ्यतामाथिकै कलंक हो । दुर्भाग्य, अझैसम्म यही प्रथाको नाममा महिलालाई मर्न बाध्य गराइनु सभ्य समाजको सूचक होइन ।

सबैलाई थाहै छ, छाउगोठले हाम्रो समाजलाई निरन्तर पछाडि धकेलिरहेको छ । रुढीवादी मानसिकताका कारण सो क्षेत्रका शिक्षिका एवम् सरकारी सेवामा कार्यरत महिलाहरुसमेत छाउगोठमा बस्ने गरेको अवस्थाले यस्तो कुसंस्कार नयाँ पुस्तामा हस्तान्तरण भइरहेको छ । महिलाहरु जैविक कारणले हुने मासिक रजस्वलामा पनि आफ्नो मूलघरमा बस्न नपाएर अँध्यारो गोठमा गुम्सिनुपर्ने बाध्यताले गणतन्त्र नेपाल र हाम्रो चेतनाको स्तरलाई चोटिलो प्रहार गरेको छ । सामाजिक कलंकका रुपमा रहेको यो प्रथा उन्मूलन गर्न निकै प्रयासहरु भए पनि छाउपडीका गोठहरु अझैसम्म भत्किन नसक्नुु अत्यन्त दुःखदायी विषय हो ।

कतिपय संस्कार र मान्यता घोषणा र कार्यक्रमका कारणमात्रै निर्मूल हुँदैनन् । त्यसका लागि राज्यशक्तिको निरन्तर दबाब चाहिन्छ । मानिसलाई कुनै अपराधबिना एक्लै पशु बाँध्ने गोठमा चार रात सुत्न बाध्य पारिनु घोर अमानवीयता हो । यो प्रथा समाजमा जीवित रहनु चिन्ताको विषय हो । सरकारले स्थानीय निकायलाई छाउपडीलगायत महिला हिंसा, मानव बेचबिखन, सामाजिक कुरीति र कुप्रथालाई निवारण गर्ने जिम्मेवारी दिएको छ । तसर्थ, स्थानीय निकायले सामाजिक अभियन्ता, प्रहरी प्रशासन र शिक्षित युवाहरुको सहयोगमा छाउगोठहरु भत्काउँदै यो प्रथा निर्मूल गर्नुपर्छ ।
वीर बहदुर सेन, पाल्पा ।

राष्ट्रिय एकता दिवस राजाबादीको मात्रै होईन
राष्ट्रिय एकता दिवस अर्थात् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिवस मनाइएको छ । राष्ट्रपिता पृथ्वीनारायण शाह आजपर्यन्त हरेक नेपालीको मनमनमा बस्दै आएका छन् । तथापि, उनीप्रति दोस्रो जनआन्दोलनपश्चात् सरकार कृतघ्न हुन पुग्यो । र, शाहको जन्मदिवस खारेज ग¥यो । पृथ्वीनारायण शाहप्रति उपेक्षा वा अनादर गर्नु सन्तानले आफ्नै वैधताप्रति आशंका गर्नुबराबर हो । नयाँ युगको आरम्भका नाममा होस, चाहे नयाँ नेपालको रूमानी रटान लगाउने क्रममा सर्वप्रथम पृथ्वीनारायण शाहमाथि नै प्रहार हुन पुग्यो ।

नयाँ नेपालका नाममा ऐतिहासिक सम्पदा र सालिकहरु ढालिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहको पुर्खाका रुपमा पृथ्वीनारायण शाहको सालिक भत्काउने घृणित कार्य सुरूवात भयो । सालिक भत्काएर इतिहास मेट्न सकिँदैन, न त कसैलाई बहिष्कार गर्दैमा उसको योगदान बिर्सन नै सकिन्छ । पृथ्वीनारायण शाहले साना दुःखले आर्जेको मुलुक होइन यो । जसको पौरखको जगमा एकीकृत नेपाल निर्माण भयो, उसैलाई उपेक्षा गरेर नयाँ जोगीहरु बढी खरानी घसिरहेका छन् । इतिहास नमान्नेले कुनै इतिहास रच्न सक्दैनन् । जसले इतिहास रच्न सक्दैन उसले इतिहासको उपेक्षा गर्न पनि मिल्दैन ।

सरकारले बिदा कटौती गरे पनि राष्ट्रिय एकता दिवसमा हरेक नेपालीको शिर श्रद्धाले झुक्छ । पृथ्वीनारायण शाहको नाम अगाडि आउनासाथ गर्वले छाती फुल्छ । नेपाल एकीकरणको साढे दुई शताब्दीपश्चात् पनि पहिलो राष्ट्रनिर्माताका रुपमा स्मरण गरिने पात्र उनीमात्रै हुन् । पृथ्वीनारायणप्रति जतिसुकै कृतघ्न बने पनि विश्व रंगमञ्चमा गर्विलो परिचय दिलाउने पनि उनी नै हुन् । अंग्रेज साम्राज्यबाट नेपाललाई जोगाउन एकीकृत राज्यको परिकल्पना गरी बाइसे, चौबिसे राज्यलाई एकता गरी सिंगो राज्य निर्माण उनैले गरेका थिए । अहिले सिंगो राज्यलाई संघीयताको नाममा टुक्राउन खोजिँदै छ ।

अहिलेको जस्तो प्रविधि र स्रोत नहुँदानहुँदै पनि युद्धकौशलमा निपूर्ण पृथ्वीनारायणले आफ्नो जीवनकालमै नेपाल एकीकरण गर्न सफल भए । नेपालका सबै क्षेत्रमा विशिष्ट परम्परा र संस्कृति अहिलेका नेताहरुले निर्माण गरेका पक्कै होइनन् । त्यसबेला इसाई धर्मको प्रचार गर्दै नेपालको चीरहरण गर्न खोज्ने पादरीहरुलाई चारभञ्ज्याङ कटाउने नेपालका धरोहर पृथ्वीनारायण शाहलाई आजका केही इसाईका उपासकहरुले खलनायकका रुपमा भ्रम छरेर बहिष्कार गरिरहेका छन् । अखण्ड नेपालको अस्तित्व स्वीकार्न नसक्नेहरुले मात्र पृथ्वीनारायणलाई युद्धोन्मादी राजा ठान्छन् ।

इतिहास लेख्ने विद्वान्हरुले पृथ्वीनारायणको ‘दिव्योपदेश’मा पनि उनलाई न्यायप्रेमी राजाका रुपमा परिभाषित गरेका छन् । उनले घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् भनेर सुशासनको सन्देश दिएका छन् । आज सुशासन र भ्रष्टाचारविरोधी गतिविधि चाहनु मूर्खता हुन थालिसकेको अवस्था छ । संघीय गणतन्त्रमा पात्र र प्रवृत्ति फेरिए पनि समग्रतामा राजतन्त्रमा भन्दा कुनै परिवर्तन हुन सकेको छैन । पहिले एउटा राजा थिए, अहिले सयौँ राजा छन् ।

फरक यत्ति हो कि अहिले धेरैले खाएका छन् । नेपाल र नेपालीको नियति भने फेरिएको छैन । आज विद्यालय शिक्षा पार गरेका हरेक नागरिक विदेशको सपना बोकेर बसिरहेका छन् । घर रित्तो, गाउँ रित्तो भइसकेको छ । एकता र मेलमिलापभन्दा वितृष्णा र वैरभाव बढ्दो छ ।

नेताहरुले आर्थिक समृद्धिको सपना बुनेर अझै केही वर्ष राज गरे पनि नेपाल र नेपालीको भविष्य भने राष्ट्रिय एकता र निर्माणमा छ । तराई मधेसमा विखण्डनकारीहरुको अभियान, देशभर क्रिश्चियनहरुको बढ्दो प्रभाव र इतिहास मेट्न उद्यत नेताहरुको नियतले के सन्देश दिइरहेको छ ? पृथ्वीनारायण शाहप्रति सम्मान दर्शाउनु हरेक नेपालीको कर्तव्य र राष्ट्रनिर्माताप्रतिको कृतज्ञभाव हो ।
सुरज कार्की, काठमाडौं । (राप्रपा कार्यकर्ता)

प्रतिक्रिया दिनुहोस्