व्यापार घाटाले शिथिल बनेको अर्थतन्त्र



?

-शुकदेव चापागाईं
अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ७० अर्ब पुगेको छ । निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन । भन्सार विभागको तथ्यांकअनुसार ५ महिनाको अवधिमा मुलुकले कुल ६ खर्ब ४४ अर्ब ५० करोड रूपियाँ बराबरको वैदेशिक व्यापार गरेकोमा ६ खर्ब ७ अर्ब ६ करोड रूपियाँ बराबरको आयात र ३७ अर्ब ५० करोड रूपियाँ बराबरको मात्र निर्यात गरेको छ । आयातको तुलनामा निर्यातको हिस्सा निकै कम रहेको छ । अन्तर्राष्ट्रिय व्यापारको यो आकार अघिल्लो आर्थिक वर्षको सोही महिनाको अवधिमा ३२ दशमलब ६५ प्रतिशतले बढी हो ।

पाँच महिना अवधिमा आयातमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निकै बढी देखिएको हो । गत आर्थिक वर्षको पहिलो पाँच महिना अवधिमा मुलुकले ४ खर्ब १८ अर्ब रूपियाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

नेपालले यस अवधिमा छिमेकी मुलुक भारतसँग मात्र कुल व्यापार घाटाको ६५ प्रतिशत अर्थात ३ खर्ब ६४ अर्ब ६२ करोड रूपियाँ व्यापार घाटा व्यहोरेको छ । भारतबाट ३ खर्ब ८६ अर्ब ५३ करोड रूपियाँ बराबरको वस्तु आयात हुँदा नेपालले भारतमा २१ अर्ब ९१ करोड रूपियाँ बराबरको वस्तु निर्यात गरेको छ । अर्को छिमेकी मुलुक चीनसँग नेपालको व्यापार घाटा ८७ अर्ब ७१ करोड रूपियाँ बराबर रहेको छ । त्यसैगरी व्यापार घाटा बढी रहेका अन्य मुलुकहरूमा फ्रान्ससँग १४ अर्ब ५७ करोड र संयुक्त अरब इमिरेट्ससँग १५ अर्ब १४ करोड रुपियाँ बराबर रहेको छ ।

वस्तुगत रूपमा हेर्दा मुलुकले सबैभन्दा धेरै व्यापार घाटा पेट्रोलियम पदार्थको आयातमा व्यहोरेको छ । ५ महिना अवधिमा पेट्रोलियम पदार्थको व्यापार घाटा मात्र ९८ अर्ब ६० करोड रूपियाँ बराबरको व्यापार घाटा देखिन्छ । उच्च व्यापार घाटा रहेका अन्य वस्तुहरूमा फलाम तथा स्टिलको आयातमा ६३ अर्ब रूपियाँ, विभिन्न मेसिनरी सामानको आयातमा ४८ अर्ब ३४ करोड रूपियाँ, सवारी साधनको आयातमा ४४ अर्ब ७ करोड रूपियाँ र विभिन्न विद्युतीय सामग्रीको आयातमा ३५ अर्ब २२ करोड रूपियाँबराबर व्यापार घाटा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कूल आयात ४ खर्ब ८३ अर्ब ७५ करोड ३८ लाख हुँदा निर्यात २९ अर्ब २८ करोड रुपैयाँ भएको थियो । आयात ९४ दशमलब ३ प्रतिशत हुँदा निर्यात ५ दशमलब ७ प्रतिशत मात्र गर्न सकिएको थियो ।

भन्सार विभागका अनुसार विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ ।

नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग नै रहेको छ । पछिल्लो विवरणअनुसार भारतसँग साढे दुई खर्ब रुपैयाँ भन्दा बढी बराबरको व्यापार घाटा छ । नेपालको तेस्रो व्यापार घाटा युरोपेली देश फ्रान्ससँग रहेको छ । यस्तै युनाइटेड अरब इमिरेट्स (युएई) सँगको व्यापार घाटा चौथो स्थानमा रहेको छ । नेपालको व्यापार घाटा रहेका देशमा थाईल्याण्ड, स्वीट्जरल्याण्ड, इन्डोनेशिया, क्यानडा, मलेसिया, अर्जेन्टिना, युक्रेन, साउदी अरब, दक्षिण अफ्रिका, इटाली, भियतनाम, दक्षिण कोरिया, अष्टेलिया, तुर्केमेनिस्तान, चीनको ताइवान, जापान, सिङ्गापुर, हङ्कङ लगायत ११२ देश छन् ।

अमेरिकामा तीन अर्ब १९ करोड ७८ लाख ५९ हजार रुपैयाँ बराबरको व्यापार भएको छ । सो देशबाट नेपालमा दुई अर्ब ५२ करोड ९५ लाख ३५ हजार बराबरको समान आयात भएकामा ६६ करोड ८३ लाख रुपैयाँ बराबरको नाफा रहेको छ । भन्सार विभागका अनुसार नेपालको व्यापारमा नाफा रहेका देशमा नर्वे, फिनल्याण्ड, अष्ट्रिया, माल्दिभ्स, मोरक्को, इस्टोनिया, अफगानिस्तान, लेबनान, एल साल्भाडोर, उरुग्वे, साइप्रस लगायत छन् । यो नाफा नेपालको लागि ज्यादै न्युन हो ।

पछिल्लो तीन महिनाको तथ्यांक हेर्दा तीन खर्ब ४९ अर्ब ८४ करोड २३ लाख २८ हजार रुपैयाँ बराबरको व्यापार घाटा हुन पुगेको देखियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा वार्षिक रु नौ खर्ब नौ अर्ब २६ करोड पुगेको थियो । भारतसँग मात्रै रु छ खर्ब र चीनसँग रु एक खर्ब २८ अर्ब घाटा छ । त्यस्तै अन्य मुलुकसँग झण्डै रु एक खर्ब ८२ अर्बको घाटा नेपालले बेहोरेको छ ।

जानकारहरुका अनुसार उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौंको व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार घाटा कम गर्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, कृषि, पर्यटन र जलविद्युत्को विकासमा बढी जोड दिनुपर्ने देखिन्छ । पर्यटन र जलविद्युत्ले व्यापार घाटा कम गर्न धेरै सहयोग पु¥याउँछ ।

विश्व बैंकले दुई वर्षअघि नै जारी गरेको रिपोर्टअनुसार विश्वको कुल निर्यात व्यापारमा नेपालको हिस्सा शून्यको हाराहारीमा रहेको थियो । विश्व वरीयतामा निर्यातको हिसाबले कुल २२१ देशमध्ये नेपाल १५५ औं स्थानमा रहेकोमा आयातको हिसाबले ९५ औं स्थानमा रहेको थियो । साथै चालू आर्थिक वर्षको हालसम्मको अवधिमा नेपालको सीमापार व्यापारका सूचकहरू विगत वर्षहरूमा भन्दा खराब रहेको तथ्यहरू बाहिर आइरहेका छन् । नेपालको वैदेशिक व्यापारमा आयात र निर्यातबीच रहेको अन्तर र यसबाट सिर्जित व्यापार घाटाको भयावह अवस्थाका बारेमा सहजै अनुमान लगाउन सकिन्छ ।

तथापि आन्तरिक रूपमा सहजै उत्पादन गर्न सकिने कृषिजन्य उपजहरू र राष्ट्रिय आम्दानीको हिसाबले विलासिताका रूपमा हेरिने वस्तुहरूको समेत आयात बढ्दै जानु स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रका लागि उचित होइन । साथै बढ्दो व्यापार घाटाका कारण सिर्जना हुन सक्ने नकारात्मक भुक्तान सन्तुलनलाई विप्रेषणले भरथेग गरिरहेको अवस्थामा कुनै कारणवश विप्रेषण आप्रवाहमा समस्या उत्पन्न भएमा हाम्रोजस्तो अर्थतन्त्रलाई धान्न निकै कठिन हुने निश्चित छ ।

उत्पादनमा कमी र अन्य देशहरूमा बिक्री गर्नका लागि बिक्रीयोग्य वस्तुहरूको उत्पादन पहिलो सर्त हो । नेपालमा उत्पादनमुखी उद्योगको विकासमा पछिल्ला वर्षहरूमा ह्रास हुँदै गएको छ । यसको उदाहरणका लागि विश्व बजारमा स्थापित नयाँनयाँ ब्रान्डका सामानहरू बजारमा सहजै उपलब्ध हुने तर सोही प्रकृतिका आन्तरिक उत्पादन विस्थापित हुँदै जानु । श्रम शक्ति विदेशी बजारमा जाने र त्यसबाट प्राप्त हुने विप्रेषणको मात्रालाई राज्यले गर्वका रूपमा लिने गरेकाले देशभित्र न त उत्पादन बढाउन सकिएको छ न त रोजगारी दिन सकिएको छ । हुन त सरकारले अबको पाँच वर्षभित्र वैदेशिक रोजगारमा जानेहरुको संख्या अन्त्य नै गर्ने घोषणा गरेको छ । यस्तै पाराले सरकारको यो घोषणा पुरा हुने देखिंदैन ।

पछिल्लो समयमा विभिन्न देशहरूले निर्यात व्यापार सुदृढ गर्न आर्थिक कूटनीतिको माध्यम अपनाउँदै आएका छन् । विश्वका सबैभन्दा शक्तिशाली मुलुकहरू चीन, अमेरिका र भारत लगायतका देशका सरकार प्रमुखहरूद्वारा अन्य देशहरूमा हुने भ्रमणका बखत महत्वपूर्ण व्यापार सम्झौता हुने गरेका छन् । तर नेपालको आर्थिक कुटनीति अहिले पनि कमजोर नै छ । विभिन्न देशहरुमा दूतावास तथा वाणिज्य दूतहरु रहेका छन् तर तिनीहरुको भूमिका नेपालको लागि खासै देखिंदैन ।

नेपालको चुलिँदो व्यापार घाटाको विश्लेषण गर्दा पहिलो त उत्पादनस्तरमा सुधार गर्दै प्रतिस्पर्धात्मक, तुलनात्मक लाभ र विविध किसिमका वस्तुहरूको उत्पादनमा बढोत्तरी गर्नु अति आवश्यक छ । यस्तो उत्पादनले एकातर्फ आयात प्रतिस्थापन गर्ने र अर्कोतर्फ निर्यात वृद्धि गर्न मद्दत गर्दछ । लघु, घरेलु तथा साना उद्योगहरूको संरक्षण, संवद्र्धन र विकास गर्न सके धेरै हदसम्म भएपनि व्यापार घाटा घटाउन सहयोग पुग्दछ ।

नेपालले व्यापार घाटा न्यूनीकरणमा सघाउ पु¥याउने उद्देश्यका साथ वाणिज्य नीति, औद्योगिक नीति तथा एकीकृत व्यापार रणनीति तर्जुमा गरी कार्यान्वयनमा नल्याएको भने होईन । तर जे जस्ता नीति अघि सारिए पनि सरकारले स्पष्ट भिजन र कार्यक्रम नल्याउँदासम्म नेपालको व्यापार घाटा कम हुने छाँटकाँट छैन । जानकारहरुका अनुसार उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले बर्सेनि अर्बौंको व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार घाटा कम गर्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, कृषि, पर्यटन र जलविद्युत्को विकासमा बढी जोड दिनुपर्ने देखिन्छ । पर्यटन र जलविद्युत्ले व्यापार घाटा कम गर्न धेरै सहयोग पु¥याउँछ ।

सरकारले समृद्ध नेपाल निर्माणमा जोड दिईरहँदा व्यापार घाटाले ठूलो असर पार्ने देखिन्छ । सन् २०२२ सम्म विकासोन्मुख र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा रुपान्तरण गर्ने नेपालको लक्ष्यलाई पुरा गर्न कम्तिमा ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिका लागि धेरै लगानी जुटाउनुपर्ने देखिन्छ । तुलनात्मक लाभका क्षेत्र भनि पहिचान गरिएका जलविद्युत, पूर्वाधार विकास लगायतका परियोजनाहरुमा सन् २०२० सम्म १८ बिलियन अमेरिकी डलरसम्मको लगानी जुटाउनुपर्ने विज्ञहरुको भनाई छ । व्यापार घाटाका कारण अर्थतन्त्र शिथिल हुँदै गईरहेको अवस्थामा व्यापार घाटा कम गर्न उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्ने गरी नीतिगत र कानूनी व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने टड्कारो आवश्यकता छ । निकासीजन्य वस्तुको उत्पादन प्रवद्र्धन तथा आन्तरिक बजारमा खपत हुने सामग्रीको आयात सहजीकरण गर्नुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्