वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी



विराटनगर, (नेस)
स्थानीय चिसाङ खोलाबाट नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर र ट्रिपरबाट अवैध चन्दा असुलीमा संलग्न भएको आरोपमा कानेपोखरी–५ का वडाध्यक्ष चरणसिंह गुरुङविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । मोरङ प्रहरीले उनको नाममा शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो ।

पुर्जी जारी गरेसँगै वडाध्यक्ष गुरुङ भूमिगत भएका छन् । कानेपोखरी–५ का अध्यक्ष पूर्व एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । कानेपोखरी–५ र बेलबारी–८ को बीचमा पर्ने समिर नाका र शान्ति टोल नाकाबाट चिसाङ खोलाबाट ढुंगा, गिटी र बालुवा निकासीमा अवैध चन्दा असुल गरी गुरुङको संलग्नता देखिएपछि प्रहरीले पुर्जी जारी गरेको मोरङका प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले ५ दिनअघि सोही ठाउँमा चन्दा असुल गर्ने कानेपोखरीका रोशन दनुवार र जितन चौधरीलाई पक्राउ गरी चन्दा ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो । चन्दा असुली गर्ने दुवै जनालाई धरौटीमा रिहा गरिएको छ । उनीहरुविरुद्धको मुद्दा मोरङ अदालतमा विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्