सिण्डिकेट नगरिएको व्यबसायीको दाबी, ‘नखाएको विष नलागोस्’



हेटौंडा,(नेस) ।

देशका यातायात व्यबसायीहरुले यतिबेला आफूहरु विश्वमा गर्व गर्नलायक लोकतन्त्रको अभ्यास गरिरहे पनि पछिल्ला केही समययता पञ्चायतकालभन्दा पनि असहज महसुस गराउने गरी आफूहरुमाथि व्यबहार भइरहेको गुनासो गरेका छन् ।

यसले आफूहरुले निर्वाह गरेको भूमिका र विगतका अत्यन्त कष्टप्रद समयमा पनि नागरिकका पक्षमा खेलेका सकारात्मक प्रयास र सेवाकर्मलाई गिज्याउने काम गरेको बताएका छन् ।

‘राज्यसँगका गुनासा र असन्तुष्टि शुरुका दिनदेखि नै हामीले प्रत्यक्ष÷परोक्ष विभिन्न माध्यमबाट राखिरहेका छौं । तर, विडम्बनापूर्ण भएको छ,’ देशका यातायात व्यबसायीको सबभन्दा ठूलो साझा संस्था नारायणी यातायात व्यबसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले आफ्नै सहकर्मीहरुप्रति लक्षित गर्दै भन्नुभयो–धमिलो पानीमा माछा मार्न हाम्रा केही सहकर्मी, व्यबसायी लागिपर्नु भएको छ । घटनाले हामी अत्यन्त स्तब्ध छौं ।

हेटौंडामा नारायणी यातायात ब्यबसायी संघ तथा नारायणी संघ प्रालिको वार्षिक साधारणसभामा उहाँले भन्नुभयो–हामीले कुनै बहानामा सिण्डिकेट गरेका छैनौं र गर्दैनौं पनि ।
‘नखाएको विष नलाग्नु पर्ने हो, तसर्थ कथित सिण्डिकेटका नाममा सबै व्यबसायीहरुलाई एउटै घानमा पिस्ने काम नहोेस्,’ उहाँले भन्नुभयो–हाम्रो देशले युवा जनशक्ति निर्यात गरिरहेको दुःखद् यथार्थबीच देशको सबभन्दा ठूलो रोजगारीको क्षेत्र र त्यसमा पनि अशिक्षित, अर्धशिक्षितले अवसर पाएको क्षेत्र यही हो । देशको भविष्यका खातिर पनि यस क्षेत्रको संरक्षण गरियोस् ।

‘व्यबसायीलाई दुर्घटना क्षतिपूर्ति पाउन, घाइतेको उपचार गर्नबाट रोक्न र संस्थाको स्रोतसाधन त परै जाओस् लेटरप्याड, छाप पनि प्रयोग गर्न नदिन भन्दै शक्तिकेन्द्रहरुमा रोइलो गर्ने प्रवृत्तिले केही हदसम्म यतिबेलाको हाम्रो नेतृत्वलाई केही अप्ठ्यारो त पार्ला,’ उहाँले भन्नुभयो–तर, यसको दुष्परिणाम समग्र यातायात क्षेत्रमा पर्न जानेतर्फ गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

‘संस्थाको अत्यन्त संक्रमणकालीन अबस्थामा साहस एवम् मार्गदर्शन गर्नुपर्ने र एकतावद्ध बनाउन भूमिका खेल्नुपर्ने व्यक्तित्वहरु आफ्नो कर्तव्यपथबाट बिचलित हुनुहुँदैन । र, वर्तमान तथा इतिहासलाई धुमिल बनाउने दुष्कार्यमा आफ्नो नाम बदनाम पार्नु हुँदैन,’ पीडावोध गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो–हामीले राज्यलाई कर तिरेका छौं । अपुग छ भने थप निर्धारण होस्, तिर्न तयार छौं ।

जस्तोसुकै असहजता वा बाटोको दुर्गमता, २००७ सालदेखि सवारीसाधन देशको कुनाकन्दरासम्म पनि नागरिकका आवश्यकता पूरा गर्न अहोरात्र खटिएका छन् । ‘हालसम्म राज्यको आपूर्ति व्यबस्था हामीले धानेका छौं । र, यात्रुको सेवाको अभिभारा निर्विकल्प हामीले नै गर्दै आएका छौं,’ उहाँले आफूहरुप्रति कृतज्ञ हुनुको बदला कृतघ्न हुने उल्टो हिँडाइले राज्यलाई न्याउरी मारी पछुतो हुने दाबी गर्नुभयो ।

यतिबेला नागरिकको मृत्यु र अंगभंग तथा अशक्त हुने एउटा ठूलो कारक सवारी दुर्घटना हो । सवारी दुर्घटनामा क्षतिपूर्ति र उपचारको व्यबस्था व्यबसायीले धानेका छन् । सेवा लिने र दिने क्रमको यो उच्च मानवीय धर्मलाई बिथोल्न राज्यका जिम्मेवार निकाय लाग्न नहुनेमा उहाँले जोड दिनुभयो ।

यातायात सम्बन्धी ऐन, कानुन, नीतिनियम, बिमा नीति (पोलिसी) जस्ता नीतिनियम तर्जुमा गर्ने सयन्त्रमा राजनीतिक व्यक्तिलाई मनोनित गर्ने परम्परा निरुत्साहित गरी यातायात क्षेत्रमा लामो अनुभव भएका राष्ट्रिय व्यक्तित्वलाई राखिए यातायात क्षेत्रको मजबुत सुधार हुनेतर्फ उहाँले अनुरोध गर्नुभयो ।

वर्षौदेखि कार्यक्षेत्रमा भारतीय सवारीको हस्तक्षेपले पारेका प्रभाव र विकृति निवारणको आवश्यकता, बिमा गरेपछि जोखिमहरुको दायित्व बिमा कम्पनीले लिनुपर्नेमा दुर्घटनापछि घाइतेको उपचार र मृतकको क्षतिपूर्तिका लागि नगदको बिटो बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्य, कर राजस्वको अनावश्यक बितण्डा, परमिटको नवीकरण, लाइसेन्स बितरणको अस्तव्यस्तता आदिजस्ता अनेक विषय समस्याका चाङका रुपमा रहेको भन्दै उहाँले समस्या निकासका विकल्पसहित अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद् विरोध खतिवडाले यातायात व्यबसायको सिण्डिकेटको प्रसंगमा केही यातायात व्यबसायीका कारण सरकारले यस्तो कदम चाल्न वाध्य भएको बताउनुभयो ।

प्रदेश–३ का प्रमुख प्रतिपक्ष दलका नेता तथा कांग्रेस प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले सरकारले काम गरेर खानेहरुलाई समस्यामा पारेको बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले नारायणी यातायात व्यबसायी संघले सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो ।

राज्यले राम्रो होमवर्क नगरी नीति अगाडि सार्दा नारायणीलाई समेत समस्या भएको उहाँको भनाइ छ । यातायात व्यबसायी र सरकारबीच छलफल गरेर समस्या समाधान गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्