विकास निर्माणलाई बर्गिकरण गरिने



धनवीर दाहाल, रुकुम ।
कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला के.सीले विकास निर्माणका कार्यलाई वर्गीकरण गरिने बताउनुभयो ।

प्रदेशमा सम्पन्न गरिने योजना अब टुक्रे नभै ठुलो बजेटका ठुलै योजना बनाउने गरी छलफल अघि बढिरहेको जानकारी मन्त्री के.सीले दिनुभयो । प्रेस चौतारी र प्रेस सेन्टर रुकुम पश्चिमले सदरमुकाम खलङ्गामा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले एक करोड देखि ५० करोडसम्मको योजनालाई साना, ५० करोडदेखि एक अर्ब सम्मको योजनालाई मझौला र एक अर्बदेखि माथि बजेटका योजनालाई ठुला योजनामा वर्गीकरण गरिने जानकारी दिनुभएको हो ।

कर्णाली प्रदेशले एक करोडभन्दा तलका योजनाहरू नबनाउने उहाँको भनाई छ । प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले साना योजना र बजेटबाट खासै उपलब्धि नहुने भएकोले एक करोडसम्मको बजेट एउटा योजनामा राख्दा काम पनि देखिने तथा विकास पनि हुने भएकाले यो अवधारणा अन्तर्गत काम गर्ने गरी छलफल चलिरहेको बताउनुभयो ।

प्रदेशलाई समृद्ध बनाउने विषयमा सरकार लागि परेको भन्दै उहाँले आगामी वर्षको बजेट निर्माणका छलफल पनि सँगसँगै भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्