क्यान्सरका बिरामीहरुलाई हेर्ने नजर बदलौ, आत्मबल दरो पारौँः खानेपानी मन्त्री मगर



नेपाल समाचारपत्र, भक्तपुर ।
खानेपानी मन्त्री बिना मगरले घर परिवार र समाजले क्यान्सर भएका बिरामीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताउनु भएको छ ।

भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार क्यान्सर सर्भाइभ क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै खानेपानी मन्त्री मगरले रोग लाग्यो भन्दैमा बिरामीहरुलाई हेर्ने नजर घर परिवारले परिवर्तन गर्नुपर्ने बताउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो, ‘ रोग संग लड्ने आत्मबल बलियो बनाऔं । जब आत्मबल कमजोर हुन्छ अनि हामी बिरामी पर्छौ । त्यसैले क्यान्सर भएका बिरामीहरुलाई आग्रह गर्छु आत्मबल दरो बनाइ गाउँ समाजमा सान्त्वना दिनु होला । ‘

उहाँले क्यान्सरलाई भयावहको रूपमा होईन कि सामान्यीकरण गर्नुपर्ने बताउनुभयो । गाउँ र टोल टोलमा क्यान्सरबारे चेतना जागृत गराउन उहाँले सबैलाई आग्रह गर्नु भयो ।

भक्तपुर क्यान्सर अस्पतालमा थप खानेपानी पानीको व्यवस्थापन गर्न कुनै कसर बाकी नराख्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

मन्त्री मगरले भक्तपुर क्यान्सर अस्पतालमा प्रसुन देवी घिराइयाको आर्थिक सहयोगमा निर्माण भएको शुद्ध पिउने पानीको उद्घाटन समेत गर्नु भएको थियो । शुद्धीकरण सहितको उक्त पिउने पानी करिब १२ लाख लगानीमा तयार भएको हो । कार्यक्रममा उक्त अस्पताललाई २३ लाख बराबरको अल्ट्रासाउन्ड मेसिन खरिद गर्न सहयोग पुर्याउनु हुने समाजसेवी रिना श्रेष्ठ र प्रसुन देवी घिराइयालाई सम्मान गरिएको थियो ।

यसै बीच क्यान्सर पीडित व्यक्तिहरुले मन्त्री मगरसंग भेटघाट गर्दै सरकारले योग्यता अनुसारको जागिरको ब्यवस्था गर्नुपर्ने र महिनाको ५ हजार दिने सरकारको निर्णयलाई निरन्तरता दिनुपर्ने लगायतका माग राखेका थिए । उनीहरूको माग सुनिसके पछि उहाँले सरकारको तर्फबाट सहयोगको पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्