बादी बालबालिकाको व्यवहार परिवर्तनको अभियानमा सुनार



हिक्मत नेपाली, दैलेख ।
दैलेखको नारायण नगरपालिका स्थित जिल्ला सदरमुकामको गणेश चोकमा बादी समुदायको बसोबास छ । सोहि समुदायमा ५० भन्दा बढि बालबालिका छन् । पुसको अन्तिम साता । कठ्यांग्रीदो चिसो । एकाविहानै ति बालबालिका एकै ठाउँमा भेला भएर छलफलमा व्यस्त हुन्छन् । कोही कसैलाई पर्खीरहेका जस्तो । एकै छिनमा सामाजिक क्षेत्रमा काम गर्दै आएकी युवा अभियान्ता सुजना सुनार पुगिन् ।

उनि पुग्ने वित्तिकै बालबालिका अनुशासित र शान्त भएर बस्छन् । बालबालिकाले नेपालको राष्ट्रिय गान गाउछँन् । त्यस लगत्तै उनले बालबालिकाको सरसफाईको अवस्था हेर्छिन् । उत्कृष्ठ सरसफाई हुने बालबालिकालाई पुरस्कार स्वरुप कापीसँगै मिठाइ समेत बाडिन् ।

अभियान्ता सुनारका लागि हरेक शनिवार विहानको दिनचर्या हो यो । उनि हरेक शनिवार नमूना बादी बस्तीमा पुग्छिन् । उनकै पहलमा त्यहाँ नमुना बाल चौतारी संचालन भएको छ । उनले समुदायका बालबालिकालाई सरसफाई बन्न सिकाउछिन् । अनुशासित हुन सिकाउछिन् । आफुभन्दा ठुला र सानालाई गर्ने व्यवहार बारे सिकाउछिन् ।

बालबालिकालाई गित मार्फत मनोरञ्जन दिनुका साथै नियमित विद्यालय जान प्रेरित गर्ने गरेकि छिन् । उनले बालबालिकाको व्यक्तित्व विकाससँगै बोल्नेकला, चित्रकलासँगै बालबालिकाको अन्तरनिहित प्रतिभाहरु उजागर गर्ने अभियानमा छिन् । यि बालबालिकाहरुको अनुशासन, स्वास्थ्य, सरसफाई, शिक्षा र उनिहरुको आनीबानीमा परिवर्तन ल्याउने उनको उदेश्य हो ।

बादी बालबालिका भन्ने वित्तिकै बाहिरका मानिसले गलत दृष्टिकोणले हेर्ने गरेका छन्, उनि भन्छिन् ‘त्यो गतल मानसिकता र बादी बालबालिका प्रति हेरिने गलत धारणा परिवर्तन गर्ने मेरो लक्ष हो ।’ बादी बालबालिका भन्ने वित्तिकै फोहोरी हुन्छन्, अभिभावकले पनि वास्ता गर्दैनन्, दिनभरी काम गर्छन वा माग्दै हिड्छन् भन्ने आम मानिसको गलत धारणा छ, उनि भन्छिन् या गतल मानसिकता तोड्नु मेरो लक्ष हो ।’

बादी समुदायका बालबालिकाहरु विस्तारै परिवर्तन हुँदै गएको उनको बुझाई छ । बालबालिकाहरु अनुशासित हुँदै गएका छन्, सरसफाईमा ध्यान दिन थालेका छन्, उनि भन्छिन् ‘यो मेरो लागि उपलब्धी हो ।’ नमुना बाल चौतारी संचालनका लागि दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहयोग गर्ने गरेको छ ।

बालबालिकाका लागि ब्रस, मनजन, शैक्षिक सामग्रीको रुपमा कापी कलम लगाएतका सामग्रीहरु सोसेक मार्फत सहयोग भएको अभियान्ता सुनारले बताइन् । स्यंमसेवक रुपमा बालबालिकाहरुसँग काम गर्दा गौरव लाग्छ, उनि भन्छिन् ‘विपन्न र पिछडिएका बालबालिकाको आनीवानीमा सुधार ल्याउनु हामी सबैको दायित्व हो ।’
बाल चौतारी कात्तिक महिना देख सुरु भएको हो । हाल सम्म १० वटा कक्षा संचालन भइसकेको अभियान्ता सुनारले बताइन् । उनका अनुसार बाल चौतारीमा १२ बर्ष मुनिका र १२ देखि १६ बर्ष उमेर समुहका बालबालिका गरी दुई वटा समुह छ । माथिल्लो उमेर समुहका बालबालिकाहरुले साना बालबालिकाहरुलाई अनुशासन लगाएतका विषयमा सहजिकरण गर्ने गरेका छन् । अभियान्ता सुनारको अभियानलाई बालबालिकाका अभिभावकले समेत सहयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्