‘बहुमतको दम्भमा पूर्वमन्त्री बस्नेतले कार्यपालिका सदस्यहरुलाई बन्धक बनाए’



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
बहुमतका आडमा नेपाली कांग्रेसबाट कार्यपालिकामा प्रतिनीधित्व गरेका सदस्यहरुले नगरसभा बहिष्कार गरेका कारण विकास निर्माणका काम प्रभावित भइरहेको भन्दै बाह्रविसे नगरपालिकाले पत्रकार सम्मेलन गरेको छ । शुक्रबारका लागि तोकीएको नगरसभामा काँग्रेसबाट प्रतिनीधित्व गर्ने कार्यपालिका सदस्यहरु अनुपस्थित भएका थिए ।

बाह्रविसे बजारस्थित सडकमै आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थानीयवासीहरु पनि उपस्थित थिए । पत्रकार सम्मेलनमा बोल्दै नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले स्थानीय सत्तामा प्रतिनीधित्व गर्ने बहुमत सदस्यहरु नै प्रतिपक्षको भूमिका खेल्दा विकास निर्माणका काम र सेवाप्रवाहमा समस्या झेलिरहेको सुनाए ।

पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृह नगरसमेत रहेको बाह्रविसेमा राजनीतिक रङ देखाएर आफुलाई सहज रुपमा काम गर्न नदिइएको उनले बताए । ‘चुनावमा हारजित सामान्य कुरा हो, मैलेपनि चुनाव एउटा पार्टीबाटै जितेको हुँ’, मेयर शेर्पाले भने,–‘तर म निर्वाचित भइसकेपछि सवै जनताको प्रतिनीधि हुँ, कुनै पार्टीको मात्र हैन ।’

चुनावका बेला राजनितीक प्रतिष्पर्धा गर्नका लागि आग्रह गर्दै उनले विकासमा राजनीतिक ‘इगो’ नसाँध्न पूर्वमन्त्री बस्नेतलाई आग्रह गरे ।‘नगरसभाका लागि पत्राचार, फोन सवैलाई भइसकेको थियो, कार्यपालिका सदस्यहरु बीचैबाट बन्धक बनाइए’, मेयर शेर्पाले भने,–‘पूर्वमन्त्री बस्नेतले नगर कार्यपालिकाका सदस्यहरुलाई नगरसभामा आउनै नदिएर एउटा कोठामा बन्धक बनाए ।’ बन्धक बनाइएका कार्यपालिका सदस्यहरुले नेताका दवाव र अंकुशका कारण नगरसभामा उपस्थित हुन नपाएको गुनासो समेत गरेको मेयर शेर्पा सुनाउँछन् ।

बहुमत कार्यपालिकाका सदस्यहरु राजनीतिक रुपमा परिचालित हुँदा काम गर्न नसकिएको भन्दै बाह्रविसे नगरपालिकाले पहिलोपटक जनतालाई साक्षी राखेर सडकमै पत्रकार सम्मेलन ग¥यो ।

सडकमै पत्रकार सम्मेलन गर्नुपर्ने अवस्था सिर्जना हुँदा आफुहरु दुखी बनेको उपमेयर शुशिला पाख्रिनले बताईन् । ‘हामी राजनीतिक जुत्ता खोलेर नै नगरमा प्रवेश ग¥यौं, तर सुरुवाती चरणदेखि नै असहयोग झेल्दै आयौं’, उपमेयर पाख्रीनले भनिन् ।

विकासमा राजनीति गर्नु नहुने भन्दै नगरवासी प्रशन शाख, इन्द्रजित तिमल्सिना लगायतका स्थानीयले विकासमा एकजुट हुन आग्रह गरे । ‘नीति, नियममा रहेर मेयर साप काम गर्नुस्, कमजोरी नगर्नुस्’, स्थानीय प्रशन शाखले भने,–‘विकासमा कसैले अवरोध पु¥याउँछ भने हामी तीनिहरलाई नाँगेझार पार्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्