जातीय विभेद अन्त्यका लागि सहभोज



नेपाल समाचारपत्र, काठमाडौै ।
जातीय विभेदको अन्त्यका लागि ‘सनातन धर्ममा जातीय विभेद छैन’ भन्ने अभियानले राष्ट्रिय एकता दिवसको अवसरमा सहभोज कार्यक्रमको आयोजना गरेको छ ।
अभियानले शुक्रबार सबै जात जाति र समुदायका मानिसलाई एकै ठाउँमा राखेर सहभोजको आयोजना गरेको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ को एक दलितबस्तीमा आयोजित सहभोजमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले जातीय विभेद हटाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।
प्रदेशसभाका नेकपा सांसद् रामेश्वर फुयालले समाजमा अझैपनि विविध संस्कृति र प्रचलनले जातीय विभेद कायम रहेको बताउनुभयो ।
उहाँले बोलेर र खोक्रा भाषणमा मात्र नभएर आफैंबाट कार्यान्वयन गर्नुपर्ने र सबैलाई समान ढंगले हेर्नुपर्ने खाँचो रहेको बताउनुभयो । उहाँले कानुन निर्माण गरेर भएपनि समाजलाई सामाजिक परिवर्तन गर्न लागिपर्ने प्रतिवद्धता गर्नुभयो ।

कार्यक्रमका अभियन्ता तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजु सुनारले जातपातको मुद्धा अझैपनि जीवित रहेको बताउनुभयो । ‘भन्ने कुरा एउटा छ व्यवहार अर्को भइरहेको छ, चिया पसलमा पनि दलित भनेर चिनिएपछि फरक व्यवहार हुन्छ’ सुनारले भन्नुभयो ‘ दलित भएर जन्मनु कसैको दोष होइन, उसले गरेका सामाजिक कामको प्रशंसा गरिनुपर्छ र उसलाई मनोबल बढाउन आवश्यक छ ।’ सुनारले यो अभियानलाई देशैभर चलाउने योजना रहेको बताउनुभयो ।
वडा नम्बर ८ का वडाध्यक्ष मनोज ढुंगानाले पाठ्यक्रममा नै जातीय विभेद र छुवाछुतका विषय समेटेर विभेदरहित समाजको कल्पना गर्नुपर्नेमा जोड दिनुभयो । ढुंगानाले जानेर वा नजानेर हिजोका दिनमा जसले अरुलाई जस्तो व्यवहार गरेपनि अब भने समान रुपमा हेर्नुपर्ने बताउनुभयो ।

अर्का अभियन्ता अभिषेक जोशीले पृथ्वीनारायण शाह एक्लैले लडेर नेपालको निर्माण नगरेको र सबैको सहयोग भएको भन्दै आगामी दिनमा पनि जातीय भेदभाव र विभेदरहित भएर समाजको निर्माणमा लाग्न आग्रह गर्नुभयो ।
स्थानीय लक्ष्मी मिजारले के कारणले आफूलाई दलित भनिएको अझैपनि प्रष्ट हुन नसकेको बताउनुभयो । ‘ के हामी गरिव भएर हो कि, नपढेर हो कि, नराम्रा लुगा लाएर हो कि बोल्न नजानेर हो दलित भएको थाहा भएन ’ मिजारले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्