पूर्ण साक्षर घोषणा गर्न ढिलाइ



विनोद सिंह विष्ट, बैतडी
बैतडीका सबै स्थानिय तहहरु पूर्ण साक्षर घोषणा भएका भएपनि जिल्लालाई नै घोषणा गर्न ढिलाई भएको छ । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिका गरी सबै १०स्थानीय तह गत असारमै पूर्ण साक्षर घोषणा भईसकेका भएपनि जिल्लालाई नै औपचारिक रुपमा घोषणा गर्न ढिलाई भएको हो ।

सबै पालिकाले आ आफ्नो सेवा क्षेत्र भित्रका १५ देखि ६० बर्ष उमेरका नागरिकहरु साक्षर भएको जनाएपछी पुर्ण साक्षर घोषणा गरिएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका विद्यालय निरीक्षक शंकर दत्त भट्टले जानकारी दिए ।

कुल जनसंख्याको ९५ प्रतिशत साक्षर भएपछि पुर्ण साक्षरता नगरपालिका तथा गाउपालिका घोषणा गर्न पाउने प्रावधान अनुसार जिल्लाका सबै स्थानिय तहहरु पुर्ण साक्षरता घोषणा गरिएका उनले बताए । उनले भने “सबै स्थानिय तहहरुले कुल जनसंख्याको ९५ प्रतिशत माथि साक्षर भएकाले साक्षर घोषणा गरिएका हुन्”

यसैबिच बैतडी जिल्लालाई नै पुर्ण साक्षर जिल्ला घोषणाको तयारी भएको छ । बैतडीमा १५ देखि ६० बर्ष उमेर समूहका नागरिक मध्ये ९६.३५ प्रतिशत साक्षर रहेकाले जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको हो । जिल्लालाई साक्षर घोषणा गर्नका लागि १५ देखि ६० बर्ष उमेरका समूहका नागरिक मध्ये ९५ प्रतिशत साक्षर हुनुपर्ने प्रावधान छ । त्यो प्रावधान बैतडीले पार गरेकाले पूर्ण साक्षर जिल्ला घोषणाको तयारी भएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीका अनुसार केही दिनभित्रै घोषणाको तयारी भएको छ । पुर्ण साक्षर जिल्ला घोषणा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आथित्य हुने भएकोले उहाँको समय नमिलेकोले मिति भने तोकिएको छैन् । उनले भने“प्रमुख अतिथीकोज्युको समय मिलेको समयमा घोषणाको तयारी छ ”
असार २६ गते नै जिल्लाका सबै स्थानीय तह साक्षर घोषणा भएका भएपनि जिल्लालाई साक्षर घोषणा गर्न मन्त्रीको पर्खाई रहेको छ ।

बैतडीमा वि स २०६७ सालदेखि साक्षरता अभियान सुरु भएको थियो । जिल्लालाई साक्षर बनाउन विभिन्न चरणमा अभियान थालिएका थिए । २०७१ सालसम्म घरधुरी सर्बेक्षण गरिएको थियो । जसमा १५ बर्षदेखि ६० बर्ष उमेर समूहका नागरिकको तथ्यांक लिईएको हो । यस्तै गतबर्षसम्म सामुदायिक सिकाई केन्द्रहरुमार्फत साक्षरता कक्षा सञ्चालन गरिएका थिए । उक्त कक्षामा निरक्षर भएका नागरिकलाई साक्षर बनाउनुका साथै १५ देखि ६० बर्ष उमेर समूहका यसअघि साक्षर भएपनि रिफ्रेस गराईएको थियो ।

विसं २०६८ को जनगणना अनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८९८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्