बीपी राजगार्ग ‘लागूऔषध’ ओसारपसार मार्ग बन्दै



मोतीराम तिमल्सिना, काभ्रे
अरनिको राजमार्ग भुकम्पका कारण बन्द भएपछि भारतबाट सिधै काठमाडौ आउन सहज विपी राजमार्ग लागु औषध ओसारपसारको मुख्य मार्ग बन्न थालेको छ ।

प्रहरीले गरेको नियमित चेकजाँच तथा छड्के चेकजाँचका क्रममा लागु औषध ओसारपसारको मुख्य मार्ग विपी राजमार्ग भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङ्क अनुसार ३३ महिनामा लागु औषध ओसारपसार सम्वन्धी २५ वटा मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा ४८ जना पक्राउ परेका छन् । बेरोजगार युवा, विद्यालय तहका बालबालिकाहरु र सडक बालबालिकाहरुले लागु औषध प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ ।

‘पक्राउ परेकाहरु मध्ये अधिकांशले ब्रोकर बनेर काम गरिरहेको बयान दिएका छन’–एसपी रविराज खड्काले भने–‘डरलाग्दो अवस्थामा ओसारपसार हुन थालेको लागु औषध नियन्त्रणका लागि अभियान शुरु भएको छ ।’ चालु वर्षको साढे ५ महिनामा १० वटा घटनामा १४ जना पक्राउ परिसकेका छन् । २०७२ चैत्र १९ गते ३ किलो गाँजा र २० ग्राम चरेश सहित एक जना साविक कुशादेवी गाविसबाट पक्राउ परेका थिए । २०७३ साउन २३ गते आधा किलो गाँजा सहित १ जना साविक बनेपा नगरपालिका ११ बुडोलबाट पक्राउ परे । लागु औषध डिजेबल ऐम्बल २४ थान, पेनरग्रेन ऐम्पल थान २२ र नोफेन थान २२ सहित साँगाबाट १ जना पक्राउ परे ।

नाईट्राभेट १० लागु औषध सहित चारजना बनेपा १० घरबाटै पक्राउ परे । विपी राजमार्ग र अरनिको राजमार्ग हुँदै निरन्तर लागु औषध र गाँजा ओसारपसार गरिरहेको केन्द्र बनेपा बनाउने गरेको घटनाले पुस्टि गरेको प्रहरीले बताएको छ । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने उक्त औषधी नेपालमा प्रतिवन्ध छ । युवाहरु कुलतमा फस्दै गएको, लागु औषधकै कारण भविश्य अन्धकार बनाउँदै लगेको अभिभावकहरुको गुनासोसँगै प्रहरीको अभियान तिब्र बनाईएको एसपी रविराज खड्काले बताए ।

लागु औषध बरामद हुँदा मोटरसाईकल, भाडाका सवारी साधन, होटल, ब्यक्तिगत घर, डेरा, पोल्टिफार्म, मोटर पार्टसप्रयोग गर्ने गरेका छन् । पछिल्mलो समय बनेपाको तीन स्थानबाट लागु औषध ओसारपसारकर्ता पक्राउ परेका छन् भने विपी राजमार्गको भकुण्डेबाट पनि ओसारपसारकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाले छुट्टा–छुट्टै गरेको पत्रकार सम्मेलनमा लागु औषधका बारेमा जानकारी गराईएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रविराज खड्काका अनुसार जिल्लाबाट खटिएको प्रहरी निरिक्षक दिपक रायको टोलीले पुष १६ गते विहान विराटनगरबाट काठमाडौ आउँदै गरेको भाडाका गाडीमा सवार दुई जना ब्यक्तिले ल्याउँदै गरेको नाईट्राभेट १० लागु औषध बरामद गरेको थियो ।

दिउसो साढे ४ बजे विपी राजमार्गको भकुण्डेबेशीमा गाडी खानतलासी गरी सुनसरी जिल्ला गढी गाउँपालिका वडा नम्वर ३ घर भएका २० बर्षिय सरोजकुमार मेहत्ता र सोहि ठेगानाका २१ बर्षिय मनोजकुमार मेहत्तालाई ५० पत्ता सहित पक्राउ गरेको थियो । १ पत्तामा १५ चक्की लागु औषध हुन्छ । एक पत्ताको उनिहरुले विक्री गर्ने मुल्य १ हजार देखि १ हजार ५ सय सम्म रहेको छ । सरोज बनेपामा रहेको ब्लक कारखानामा काम गर्दै आएका थिए भने मनोज कारनपुर युपि होटलमा काम गर्दै आएका थिए । उनिहरुले भारतका विभिन्न स्थानबाट उक्त लागु औषध नेपाल ल्याई बनेपा र आसपासका शहरमा विक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी रविराज खड्काले बताए ।

त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक निरञ्जन भट्टराईको टोलीले बनेपाको साँगा इलाकाबाट पौष १३ र १७ गते ८२ पत्ता नाईट्राभेट १० बरामद गरेका थिए । पौष १३ गते अरनिको राजमार्ग स्थित बनेपा नगरपालिका वडा नम्वर १३ साँगा मन्दिर जाने बाटोमा ५० पत्ता अथार्थ १५ सय १४ चक्की लागु औषध लुकाएर ल्याउँदै गरेको अवस्थामा तनहुँ जिल्ला सुक्ला गण्डकी नगरपालिका १ घर भएका २४ बर्षका उत्तम कार्की र खोटाङ्ग जिल्ला चिउरी डाँडा नगरपालिका घर भएका २५ बर्षिय आशिष थापालाई पक्राउ गरिएको जानकारी दिए ।

अनुसन्धान र गस्तिकै क्रममा सोहि टोलीले पौष १७ गते राति साढे ८ बजेको समयमा अरनिको राजमार्गको साँगा बनेपा १३ मा काठमाडौबाट बनेपा तर्फ आउँदै गरेको अवस्थामा मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरिएको थियो । विराटनगर महानगरपालिका १५५ घर घएका वर्ष २३ का प्रसिल थापा क्षेत्रीले बोकेको झोलामा २५ पत्ता लागु औषध फेला परेको थियो । उनी बा २६ प ३९२४ नम्वरको बाईकमा मोरङ्ग जिल्ला सुनबर्सी नगरपालिका ६ घर भएका ३६ बर्षिय देवकुमार राजबंशीसँग आउँदै थिए । प्रहरीले दुबै जनालाई पक्राउ गरेको थियो ।

सोहि दिन राति बनेपा ८ चाँदनीचोकबाट बनेपा नगरपालिका १० जनागाल घर भएका २३ बर्षिय सबिन हुमागाई, महोत्तरी जिल्ला लक्ष्मिनिया गाउँपालिका ३ घर भएका ४० बर्षिय लालबाबु मण्डल र सोहि ठेगानाका २४ बर्षिय अजय शाहलाई ७ पत्ता नाईट्राभेट १० सहित पक्राउ गरेको थियो । जिल्लाका विभिन्न स्थानमा चालु आर्थिक वर्षको साढे ५ महिनामा मात्रै १२ वटा मुद्दा दर्ता भएको एसपी रविराज खड्काले जानकारी दिए । १० वटा मुद्दाबाट १४ जना पक्राउ परेका छन् भने अघिल्लो वर्ष सोहि अभियोगको १२ वटा मुद्दामा १६ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई लागु औषध ऐन २०३३ अनुसार मुद्दा चलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्