गाउँमा सञ्चालित सवारीमा भाडामा मनपरी



नेपाल समाचारपत्र, पर्वत
सदरमुकाम कुस्मा देखि दक्षिण पर्वतका लागि संचालित यात्रुबहाक सवारी साधनले चर्को भाडा लिँदा नागरिकहरु समस्यामा परेका छन्।
पर्वत सदरमुकाम कुस्माबाट दैनिक रुपमा फलेवास नगरपालिका, महासिला गाउँपालिका र विहादि गाउँपालिकाका विभिन्न स्थानमा चल्ने जीप र मिनि बसले मनपरी रुपमा भाडा असुली गरिरहँदा नागरीकहरु चर्को भाडा तिर्न बाध्य भएका हुन्।

हाल सदरमुकाम कुश्मदेखि साईकल चोक सम्मको बाटो कालो पत्रे भई सकेको छ भने मुडिकुवादेखि लमायखोला सम्मको बाटो पनि कालोपत्रे गरिसकिएको छ। फलेवास नगरपालिका ७ लिमिठानाका राजकमल शर्मा भन्छन्, ‘सवारी साधनको मनोमानी भयो भनेर फलेवास नगरपालिकामा जानकारी गराउँदा पनि केही भएन। जनताले बनाएका जनप्रतिनिधिले जनताकै ढाड सेकिरहेका सवारी संचालकलाई कारबाही नगर्नुको अर्थ के हो? उनीहरुको पनि यसमा मिलेमतो भएको त प्रष्ट छ।’

सदरमुकाम कुश्मादेखि फलेवाससम्मको सडक झण्डै १९ किलोमिटर छ यसमध्ये बीच भागमा ५ सय मिटर सडक मात्र कालोपत्रे गर्न बाँकी छ। यो रुटमा चल्ने जीपले २ सय ५० र बसले २ सय रुपैयाँ सम्म लिने गरेका छन्। यस्तै, लिमिठानाबाट कुश्मा चल्ने जीपले ३ सय र बसले २ सय ५० रुपैयाँ लिने गरेका छन्। अर्का स्थानीय प्रेमप्रसाद सुवेदी भन्छन्, ‘न त टिकट दिन्छन, न त सजिलोसंग बस्न पाईन्छ, मनपरी भाडा लिन्छन त्यसमा पनि भेडा खाँदिएको जस्तो गरी सास फेर्न नमिल्ने गरी मान्छे राख्छन्।’

कुश्माबाट पोखरासम्मको दूरी ६० किलोमिटर जुन सडक अहिले मध्यपहाडी लोकमार्गका कारण पूरी कच्ची अवस्थामा छ। तर भाडा भने १ सय ६५ रुपैयाँ छ। सदरमुकाम देखि दक्षिणको लागि छुट्ने सवारी साधानमा यात्रा गर्ने यात्रुले आधा भन्दा बढि कालो पत्रे गरिएको बाटोमा यात्रा गर्ने गरे पनि भाडा भने पुरै कच्चि सडककै तिर्दै आएका छन्। यात्रुहरुले बाटो कालोपत्रे भईसक्दा पनि पुरानै भाडा तिर्न बाध्य हुनु परेको भन्दै गुनासो गरे पनि सम्बन्धित निकायको ध्यान जान सकेको भने छैन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार पर्वतमा रुट परमिट कायम गरिएका सडकहरुमा बसको लागि प्रतिकिलोमिटर ७.५० पैसा तोकिएको छ भने जीपको लागि ८.५० पैसा तोकिएको छ। यद्यपी, जिल्लामा चल्ने सवारी साधनहरुले तेब्बर सम्मको भाडा अशुली गरिरहेको प्रस्ट देखिने गरेको छ।

कच्चि बाटो हुँदा र बाटो कालो पत्रे भैसक्दा पनि एउटै भाडा तिर्नु पर्ने अवस्थामा रहेका स्थानियले चाडो भन्दा चाडो भाडा समायोजन गराउनु पर्ने माग गर्दै आएका छन्। एकातर्फ चर्को भाडा तिरेर यात्रा गर्न स्थानिय नागरीक बाध्य छन भने अर्को तर्फ ग्रामिण क्षेत्रमा चल्ने सबैजसो सवारी साधनहरुले क्षमताभन्दा बढि यात्रुहरुलाई यात्रा गराउँदा निकै समस्या हुने गरेको यात्रुको गुनासो छ। प्रहरीको आँखा छल्नको लागि व्यवसायीहरुले प्रहरी चेक पोस्ट रहेको ठाउँमा यात्रु झार्ने र चेक कटेपछि तिनै यात्रुलाई राखेर यात्रा गराउदा दुर्घटनाको समेत जोखिम बढेको छ।

प्रतिक्रिया दिनुहोस्