पतञ्जलि १६: शंकरको ताण्डव नृत्य हेर्ने चाहना



नारायणको चालामाला र शेषनागका वाक्यले लक्ष्मीको मनमा चिसो पस्यो । एक त नारीमन पतिप्रति त्यसै पनि प्रायः सदैव शंकालु हुने गर्दछ । त्यसमाथि झन् शेषनागजस्तो विश्वासपात्र सेवकले समेत शंका गर्दा त हो न हो, भगवान् नारायण स्वर्गकी कुनै पट्ठीमै लट्टीपट्टी भएजस्तो छ भन्ने लाग्यो, लक्ष्मीजीलाई । अनि त उतिखेरै भगवान्लाई जगाउने प्रयास भयो उहाँको ।

‘के भयो आज स्वामी ? किन यस्तो लीला गर्नुभएको ? के सपना देख्नुहुँदै छ आज ? सपनामा लट्टिएर पाउको सेवा गर्दै बसेकी मलाई पनि बिर्सिनुभयो कि हजुरले ? जागा होस् अब !’ लक्ष्मीले नारायणलाई जगाउनुभयो ।
मैले लीला गरेको होइन प्रिय ? लीला हेरेको ! आफ्नी दिव्याङ्गना छोडेर देवाङ्गनामा किन रमाउँथें म ?’ नारायणले भन्नुभयो ।
‘कस्तो लीला प्रभो ?’ लक्ष्मीले नारायणलाई सोध्नुभयो ।

‘मैले त कैलास शिखरमा भगवान् शंकरको ताण्डवनृत्य हेरिरहेको थिएँ । नृत्य हेर्दाहेर्र्दैै आफैंलाई बिर्सिदिएँ । त्यसै नृत्यमा झुम्दा–रमाउँदा मेरो शरीर यसरी फुकेको र हल्लेको हो । अत्यन्तै दिव्य नृत्य थियो भगवान् शंकरको त्यहाँ । धरै ठूलो भाग्य भएको पुण्यात्माले मात्र देख्न पाउँछ, शिवताण्डव नृत्यको त्यो दिव्य–भव्य लीला !’

लक्ष्मीपति भगवान् विष्णुबाट यो रहस्य थाहा पाएपछि वातावरण पुनः यथास्थितिमा आयो । शेषनागलाई पनि हलुंगो भयो । लक्ष्मीजीलाई पनि । त्यसपछि नारायणले त्यसै ताण्डव नृत्यको महिमा वर्णनमा केही समय खर्चिनुभयो । अब त शेषनागलाई पनि भगवान् शंकरको त्यही ताण्डव नृत्य हेर्ने मन लाग्यो । ‘प्रभो मैले पनि भगवान् शंकरको त्यो दिव्य ताण्डव नृत्य हेर्न पाऊँ ।’ शेषनागले विनयपूर्वक भगवान् विष्णुसँग निवेदन गरे ।

‘तिमीले यसका लागि पृथ्वीतलमा जानुपर्दछ ।’ विष्णुले भने ।
‘हवस् जो आज्ञा !’ शेषनागले भने ।
‘तर देवता र अन्य महापुरुषहरुको अवतार मात्र स्वार्थपूर्तिको लागि होइन, लोककल्याणका लागि पनि हुनुपर्दछ । सोद्देश्य र सप्रयोजन हुनुपर्दछ यो । निरुद्देश्य र निष्प्रयोजन होइन । तिम्रो अवतरण लोककल्याणका लागि पनि होस् भन्ने म चाहन्छु ।’
‘आज्ञा होस् प्रभो ! त्यहाँ गएर मैले के गर्नुप¥यो ?’ विनीत भएर शेषनागले सोधे । नाराणले बताउँदै जानुभयो ।
क्रमशः

प्रतिक्रिया दिनुहोस्