दुई दिने शिविरमा ३ सय ४ जनाले लिए नागरिकता



रामचन्द्र वि.क., रामेछाप ।
रामेछापको गोकुलगंगा गाउपालिकाका सर्वसाधारणलाई लक्षित गरी संचालन गरिएको एकीकृत घुम्ती शिविर मार्फत ३ सय ४ जना सर्वसाधरणले नागरिकता लिएका छन् । गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा भएको दुई दिने शिविरमा गाउँपालिकाका सर्वसाधारणले नागरिकता लिएका हुन् । विहिबार र शुक्रबार संचालन भएको शिविरबाट १ सय ८३ महिला र १ सय २१ जना पुरुषले नागरिकता लिएका छन् ।

विभिन्न कारणले नागरिकता लिन नसकेका तथा सदरमुकाम सम्म आउन नसकेका सर्वसाधारणलाई लक्षित गरी एकीकृत घुम्ती शिविर मार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

त्यस्तै शिविरमा ३ सय ३३ जनाले फोटो सहितको मतदाता नामवालीमा नामा दर्ता गराएका छन् । गाउँपालिका भित्रका ३१ जनाले उद्योग र २५ जनाले व्यवसायिक फार्म दर्ता गरएका छन् ।

गोकुलगंगा गाउपालिकाको वडा नम्बर ३ को कार्यलय रस्नालुबाट प्रबाह गरिएको सेवामा वडा नं. १ देखि वडा नम्बर ६ सम्मका स्थानीयको सहभागीता रहेको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिब कुमार राइले जानकारी दिनुभएको छ ।

पालिकाको केन्द्रबाट टाढा रहेका वडाबाट शिविर सम्म आउन नसक्ने जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई गाउँपालिकाले नै गाडीमा ल्याएर नागरिकता बनाएदिएको प्रमुख प्रशासकीय अधिकृत राइले बताए ।

प्रतिक्रिया दिनुहोस्