किन हेप्छन् कर्मचारीलाई ?



दीपक खनाल,
जागीर खाने सोचै थिएन । सोच भएको भए उमेरको ३० को दशकमा किन लोकसेवा पसिन्थ्यो होला र ! स्वर किन्नरी तारादेवीले गाएजस्तो कहाँ सोचेजस्तो खोजेजस्तो हुँदोरहेछ र जीवन ? संयोग वा नियमित आकस्मिकता न हो रहेछ जीवन । कहिले उकाली चढ्नुपर्ने कहिले ओराली झर्नुपर्ने । कहिले दायाँ हेर्नुपर्ने कहिले बायाँ । कहिले रुनु पर्ने कहिले हाँस्नुपर्ने । अनि एउटा अभिनय जस्तो जीवन, रङ्गमञ्चको पात्र झैँ जिन्दगीका विभिन्न रङ्गमञ्चमा अनेक भूमिकाका साथ देखिनुपर्ने । जिन्दगीका धेरै वयहरू निजी आमसञ्चारमाध्यममा नै बितेका थिए । दश वर्षअघि संयोगले राष्ट्रिय समाचार समिति(रासस) पुगियो, त्यसभन्दा अघिको उर्जाशील र रहरलाग्दो एकदशक पत्रकारितामा नै गुज्रिसकेको थियो ।

राससमा जागीर भन्दा पनि एउटा मिसनको रूपमा पुगेको वा पु¥याइएको महसूस गरेको थिएँ । जति बसियो त्यसरी नै बसियो । तर रासस प्रवेशले कर्मचारी वा कर्मचारी पत्रकार हुनुको पीडा र अनुभव एकसाथ दिलायो । सरकारनियन्त्रित सञ्चार संस्थाको अनुभव भरपूर हासिल गर्न पाइयो । निजी सञ्चारमाध्यमबाट नबटुलिएका अनुभव त्यहाँबाट बटुलियो । त्यसले झन् ज्याद्रो, विद्रोही र सम्झौताहीन बनायो ।

विद्रोह–चेत अझै भर्भराउँदो भयो रसेटोको आगोको कोइला भैmँ । तथाकथित ठूला हाकिम भन्नेहरूले सामान्य तहका कर्मचारी साथीप्रति गर्ने व्यवहार देख्दा लाग्थ्यो, त्यहाँभित्र अझै राणाशासन गएको छैन । यातनालयजस्तो, अपमानित स्थलजस्तो लाग्यो व्युरोक्रेसीप्रतिको बुझाई । तथापि रासस पूर्ण व्यूरोक्रेटिक संस्था थिएन÷होइन । अनन्य आँटिला मित्र प्रेमजी र हामी मिलेर कर्मचारी संगठन बनाएपछि राणाकालीन सोच भएका मानिसका निदहराम हुनु स्वाभाविक नै थियो । अनि क्षमता हुँदाहुँदै पनि आस्थाकै आधारमा कहिले कार्यकक्षमै दुव्यर्वहार गर्न खोज्ने त कहिले हाजीर काट्ने, कहिले महिला र तल्लो तहका कर्मचारीलाई तँ भन्दै होच्याउनेहरू फूलका थुङ्गा लिएर स्वागत गर्न बाध्य भएका थिए ।

ती दिनका एकदशकपछि पनि कर्मचारीलाई हेर्ने र हेप्ने प्रवृत्ति उस्तै छ । मान्छे तिनैजस्ता छन् । कतिपय ‘सर्वहारानेता’, पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि नियुक्तिधारीसम्म कर्मचारी–कटाक्षमा उत्रेको देख्छु । पटक–पटक सर्वहाराका हितमा काम गरेको स्वप्रचार गर्ने र आफूलाई श्रमिक–मजदूरको नेता ठान्नेहरूसमेत कर्मचारीमाथि कटाक्ष गर्न पछि परेका छैनन् ।

कर्मचारी र मजदूरको संगठन बनाएर जताततै राजनीति र विद्रोहको बीउ रोप्ने नकचरा ढोँगीहरूलाई समेत कर्मचारी देख्दा ‘रक्तचाप’ बढ्न थालेको छ । तिनीहरूले समाजवादी–साम्यवादी यात्राका ज्यानी दुश्मन कर्मचारीलाई नै देख्न थालेका छन् भने अझै ‘अधूरो क्रान्ति’ पूरा गर्न लडिरहेका कोही–कोही पात्रहरूले ‘सिंहदबारको साँढे’ले हानेको निहुँमा गौशालाका कमाधेनु गाई (कर्मचारी) माथि प्रहार गर्ने गरेका छन् । एकजना त मन्त्री भएदेखि नै कर्मचारीलाई गाली गरेको ग¥यै छन् । उनी कर्मचारीमाथि ‘अरिङ्गाल’ झैँ खनिनुलाई नै आफ्नो ‘अर्गानिक मिसन र भिजन’ मान्दछन् । यीबाहेक उनलाई अरु ‘बोइलर र कोइलर’ भिजन र मिसनप्रति ध्यान दिन आवश्यक पनि रहेनछ ।

सके जागीरै नखानू नसके खानू झण्डामुनि बस्नु दरबार कहिल्यै नपस्नू भन्ने भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । राजनीतिक व्यवस्था आवरणतः गणतन्त्रात्मक भनिए पनि कर्मचारीप्रतिको दृष्टिकोण, चिन्तन र व्यवहारहरू राणाशाही तथा पञ्चायतशाहीका भन्दा फरक छैनन् । लामो समय युद्ध, जनसंघर्ष, जनआन्दोलनबाट खारिएका भनिएका मन्त्री, प्रधानमन्त्री र आफूलाई अन्तर्राष्टियस्तरको नेता भन्न रुचाउने आत्मरोगीहरूसमेत कर्मचारीमाथि खनिएको देख्दा राणाशासकले सुब्बा कृष्णलाल अधिकारी र लक्ष्मीनाथ चालिसेलाई यान्त्रणालयमा मर्न बाध्य बनाएको ठीकै रहेछ भन्न विवश छु म ।

चिन्तनै सामन्तवादी हुनेहरूले कर्मचारी तथा आफूभन्दा तल्लो पद, मर्यादामा रहेकालाई गर्ने व्यवहार सामन्ती नै हुनु अनौठो थिएन÷होइन । त्यसमा आश्चर्यजनक वा आपत्ति मान्नुपर्थेन/पर्दैन । तर अनौठो र आश्चर्यजनक त यहाँ मान्नुपर्छ, जहाँ जो आफूलाई उपाध्ये समाजवादी र साम्यवादी (अझ सर्वहारावादी) कम्युनिष्ट ठान्दछ, उही कर्मचारीलाई ‘दलित’ भनेर छोइछिटोको व्यवहार गर्दछ ।

मुखले ठूला–ठूला गफ गर्ने शासकहरू आफ्नो असफलताको आक्रोश कर्मचारीमा पोख्दछन् । प्रगतिको अन्तिम बाधक कर्मचारीलाई नै देखेर प्रहार सुरु गर्छन् । साँच्चै भनूँ भनेँ कर्मचारीप्रतिको प्रहार देशभरका लाखौँ श्रमिक–मजदूरमाथिको प्रहार हो । आफूलाई श्रमिक–मजदूरको अभिभावक, मुक्तिदाता, न्यायकर्ता, संरक्षक, नेता ठान्नेहरू नै कर्म र श्रममा चरेर जिउने कर्मचारीमाथि खनिनुको प्रमुख कारण वर्गीय नै हो । किनकि शासक÷सञ्चालक र कर्मचारी दुई फरक वर्ग हुन् ।

यो वर्गीय अन्तरविरोध भएकाले शासक र कर्मचारीबीचको स्वार्थ मेल खादैन । त्यसैले उनीहरू कर्मचारीविरुद्ध खनिन्छन् । प्रशासनका विद्धान्हरूका अनुसार राजनीत र प्रशासन समानान्तर रेखा हुन् । सिद्धान्ततः यी कहिल्यै मिल्नै सक्दैनन् । सधैँ सन्तुलनमा रहन्छन् र रहनुपर्दछ । दुईमध्ये एक शक्तिशाली भएमा एकअर्कालाई थिच्ने क्रम बढ्छ । राजनीति बलियो भने त्यसले आफ्नो स्वार्थ पूरा गर्न विधि, पद्धति, ऐन, कानुन, नियम, मर्यादा नै तोड्दै अघि बढ्छ । चाकडी, चुप्लुसी, हुकुमी–प्रमाङ्गीमा रमाउँछ ।

उसका स्वार्थका पछि नलागे कर्मचारी वर्गमाथि नै दुव्र्यवहार हुन्छ, हेपिन्छ, चेपिल्छ । अडान भएका कर्मचारी वा कार्यालय प्रमुख भएमा दुईपक्षबीच टसल सुरु हुन्छ । यसबाट नागरिकका कामहरू प्रभावित हुन्छन् । अहिले यसरी नै व्यक्तिवादी प्रवृत्ति हावी हुँदै गएकाले ती संस्था कमजोर बन्दै गएका छन् । राजनीतिक नेता÷मन्त्री र प्रशासनिक व्यक्तिबीच त देश र जनताका मिसनमा हो कुरा मिल्ने । लेनदेनमा कुरा मिल्यो भने कार्यालय, मन्त्रालय सकियो भन्ने जाने हुन्छ ।

काम गर्छु भनेर नै हो कर्मचारीले जागीर खाएको । इमान्दार र लगनशील कर्मचारीलाई कामको मात्रै तनाव हुन्छ । तर हामीकहाँ काम भन्दा पनि अरु कुराले तनावमा हुन्छ कर्मचारी । काममा भन्दा कसलाई सम्मान भयो भएन, चियाकफी, खाजा खाऔँ भनियो, भनिएन, नमस्कार गरियोे कि गरिएन भनेर चिन्ता लिनुपर्ने ।

को आयो को आएन, कसले चियाकफी खायो खाएन, नमस्कार भयो कि भएन भनेर बस्ने गेष्ट हाउस त होइन नि कार्यलय । त्यही पनि अगाडि देख्दा नमस्ते भन्नु सम्मानको कुरा हो । तर कुनै दिन कर्मचारीले अनुहार हेर्न बिर्सियो भन्दैमा त्यसैलाई हेप्ने र चेप्ने शासक र नियुक्तिधारीसमेत हुँदारहेछन् यो जमनामा पनि । अरु होइनन् ती पनि जनवादी, अझ कम्युनिष्ट । एकदिन एकजना जनवादी नियुक्तिधारीलाई त्यस्तै परेछ । २३ वर्षसम्म लिन नपाएको अनुभव समाजवाद–उन्मुख शासनकालमा लिन पाइयो । धन्य भाग्यमानी रहेछु म ।

मनोविज्ञान नबुझ्ने शासक

हो, सही हो कर्मचारीले ऐन, कानुन मान्नुपर्छ तर कर्मचारीको मनोविज्ञान नै नबुझी बाहिरबाट प्वाक्क–प्वाक्क बोल्नुमा कुनै तुक हुँदैन । सबै कर्मचारी सदाचारी या सबै भ्रष्टाचारी हुँदैनन् । तर त्योभन्दा पहिले नेतृत्ववालाहरूले कर्मचारीलाई काम गर्ने वातावरण दिएका छन् कि छैनन् ?, मनोबल गिराएका छन् कि छैनन् ?, नेतृत्ववालाहरू आफैँ सोपान प्रणालीको सिद्धान्त, ऐन, कानुन र नियममा चलेका छन् छैनन् ? राणा र पञ्चे झैँ हुकुमी, प्रमाङ्गीमै चलेका छन् वा बडाहाकिमजस्तै भएका छन् कि लोकतान्त्रिक प्रणालीका शासक बनेका छन् भनेर समीक्षा गरिनुपर्दछ ।

कर्मचारीको मनोविज्ञान नबुझ्ने शासकले सिङ्गो मुलुकलाई नै निराशामा लैजान्छ । उसले सानो इकाईसमेत हाँक्न सक्दैन । किनकि कर्मचारी नै नागरिकको स्थायी सेवक हो । उसको मनोबल गिराएर सेवाग्राहीले आशातीत सेवा पाउन सक्दैनन् । मनोबल गिरेको सिपाहीले युद्ध जित्न सक्दैन भने जस्तै चौतर्फी कोपभाजनमा पारिएको कर्मचारीले चाहेर पनि सेवाग्राहीलाई भरिपूर्ण सेवा उपलव्ध गराउन सक्दैन ।

सुशिल कोइराला प्रधानमन्त्री हुँदा कर्मचारीको मनोबल उच्च बनाउन खोज्नुभएको थियो । त्यतिबेला उहाँले ‘तपाईँ राष्ट्रसेवकहरू कसैको ‘दास’ (क्षमा पाऊँ यो उहाँकै शब्द प्रयोग गरेको हुँ) होइन, निडर भएर काम गर्नुस् भन्नुभएको थियो ।’ कार्यकारी प्रमुखले यतिमात्र भनिँदिँदा पनि नीति–निर्देशन र ‘माथि’को आदेशमा चल्ने कर्मचारीको मनोबल ह्वात्तै बढ्छ । तत्कालीन उर्जामन्त्री जनार्जन शर्माले कुलमान घिसिङहरूको मनोबल उच्च बनाएर अभियानमा साथ नदिएको भए मुलुक अन्धकारबाट सायदै मुक्त हुने थियो ।

सोपान प्रणाली(मर्यादाक्रम), मनोबल, उत्प्रेरणा, आकर्षण, कर्मचारीका माग र सौदावाजी, विधि पद्धति, ऐन, कानुन, नियम, लालफित्ता–शाहीतन्त्र, चाकडी–चुप्लुसी–चुक्ली, राजनीति र प्रशासनबीचको सम्बन्ध आदि नबुझ्ने र अलि–अलि बुझेर पनि बुझ पचाउने शासकले कर्मचारी संयन्त्र र कार्यालयहरू नै तहसनहस बनाउँछ । ऊ कुशल शासक वा सञ्चालकभित्र त पर्दै पर्दैन ।

कर्मचारी को प्रति जवाफदेही ?

अब कर्मचारी को प्रति जवाफदेही भन्ने बहस हुन जरुरी भइसकेको छ । कर नागरिकले तिर्ने र त्यही करबाट कर्मचारीले तलव–भत्ता लिने भएकाले ऊ नागरिक वा सेवाग्राहीप्रति जवाफदेही हुन आवश्यक छ । सरकार वा सरकारी निकायमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले जनभावनाविपरीत आफ्नै स्वार्थका लागि मात्र काम गर्छन् र कर्मचारीलाई त्यसैका लागि धम्की, दबाब दिन्छन्, त्यसका लागि ऐन, नियम, कानून, मर्यादाक्रम तोडेर हुकुमी–प्रमाङ्गी लाद्छन् भने राष्ट्र सेवक कर्मचारी तिनका पछि लाग्न जरुरी छैन, बरु ऐन, नियम, कानूनभन्दा कत्ति नडगी अघि बढ्नुपर्दछ । नागरिकको आड लिएर निर्धक्कसँग काम गर्नुपर्दछ ।

फुटाऊ, फुटाऊ अझै फुटाऊ
कर्मचारी हेपिनु र चेपिनुको पहिलो प्रमुख कारण शासकहरूको चिन्तन वा माइन्ड–सेट नै हो । माथिल्लो र तल्लो पदका कर्मचारीलाई कहिल्यै मिल्न दिइदै दिइदँैन । तलव, सेवा, सुविधामै विभेद गरेर सेवा प्रवेशमै विभाजित बनाएको पाइन्छ । बाघ र बाख्रा एउटै खोरमा अड्छन् र ? शासक र कर्मचारीको वर्ग नै फरक हो । वर्र्गै फरक भएपछि दृष्टिकोण फरक हुनु र दृष्टिकोण फरक भएपछि व्यवहार फरक हुन स्वाभाविक नै हो । पूर्व शासकहरू कर्मचारीलाई साथ र हात लिएर भन्दा फुटाएर, धम्क्याएर, तर्साएर सत्ता टिकाइरहन खोज्दथे । बहुदल आएपछि कर्मचारीलाई विचार वा आस्थाका चश्मा लगाएर विभाजित गरियो । यसले गर्दा शासकलाई हाइसञ्चो भयो । कर्मचारीलाई नै जुधाइदिएपछि फुटाएर राज गर्न पाइयो । शासक र कर्मचारीको वर्ग फरक हुने भएकाले नै राणाकालदेखि अहिलेसम्म उस्तै प्रवृत्ति हावी छ ।

दोषी नै छैन त कर्मचारी वर्ग ?

हेपिनुको अर्काे कारण स्वयम् कर्मचारी वर्ग नै हो । कर्मचारीहरू नै छिन्नभिन्न छन् आस्था र वादका नाममा, नजिक र टाढाको नाममा, सँगै पिउने र सँगै घुम्ने नाममा । लोभी, पापी, टाउको बिकाउने, सिआइडीगिरी गर्ने कर्मचारीका कारण कर्मचारीबीचमै फाटो आउँछ । यस्तो चरित्र बोकेका कर्मचारी शासक वा सञ्चालकका विभिन्न लोभ÷लालचमा फस्छन् । आफ्नो वर्ग नै बिर्सन्छन् । एक कर्मचारीमाथि प्रहार हुँदा चूप लागेर बस्छन् । नपर्दासम्म आफूमाथि प्रहार होला भनेर सोच्दै सोच्दैनन् । यसो हुँदा इमान्दार र लगनशील कर्मचारी सधैँ बहिष्करणमा पर्दछ । अडान नभएका बीचका कर्मचारी ठूलो भीडकै पछि लाग्दछन् ।
सबै कर्मचारीहरूले यो कुरा नबुझिदिँदा माथिबाट राज गर्नेहरूलाई हाइमस्ती हुन्छ । कामचोर, आफूलाई नागरिकको सेवक भन्दा शासक ठान्ने, कर्मचारी संगठनमा बसेर काम नगर्ने बरु त्यसको आडमा ब्रम्हलूट गर्ने कर्मचारीका कारण यो वर्ग नै बद्नाम बन्दै र हेपिदैँ गएको हो ।

कर्मचारी संगठन र तिनका माउ पार्टीको आडमा रकम असुली गरेर घर–घडेरी जोड्ने, बोर्डिङ, कलेज खोल्ने, यातायात व्यवसाय चलाउनेहरूलाई यही आँखाले देखिरहेको छ । ५०/१०० रुपैयाँदेखि घूस खाने, नागरिकका कममा ढिलाढाला गर्ने कर्मचारीका विषय त पटक–पटक मिडियामा नै आउने गरेको छ । कर्मचारीमाथि प्रहार हुने अर्काे कारण हो कामचोर प्रवृत्ति । एउटै कर्मचारीले काम नगर्दा त्यसको दोषको भागीदार सबै कर्मचारी हुनुपर्ने अवस्था पनि आउँछ ।

(प्रेस काउन्सिल नेपालमा कार्यरत खनाल स्वतन्त्र पत्रकार समेत हुन् )

प्रतिक्रिया दिनुहोस्