नेविसंघ विघठन संघारमा, आठ पदाधिकारीको राजिनामा



नेपाल समाचरपत्र, काठमाडौं।
नेपाली काँग्रेसको शसक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भए संगै आठजना पदाधिकारीले सामुहिक राजिनामा दिएका छन् । संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रवार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएका हुन् ।

राजिनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् । वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि निकास दिन राजिनामा गरिएको असन्तुष्ट नेताहरुले जानकारी दिएका छन् ।

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भए पछि विघठनको संघारमा पुगेको छ । गत भदौमा म्याद सकिएको नेविसंघ केन्द्रीय समितिको महाधिवेशन गर्नको लागि भनि नेपाली काँग्रेसले पटक पटक म्याद थप्दै आएको थियो ।

विधानलाई लत्याउदै पटक पटक म्याद थप गर्दा समेत १४ जिल्लाको भन्दा बढि अधिवेशन गर्न नसके पछि नेविसंघ केन्द्रीय समिति स्वतः विघठनको संघारमा पुगेको छ । महाधिवेशनको लागि लामो समय सभापति शेरवहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको जुहारी नै चलेको थियो । विना तयारी र विधान विपरित नेविसंघको म्याद थप्दै जानु विधान विपरित मात्र नभई लोकतान्त्रिक प्रक्रियाकै माथिको प्रहारको रुपमा पौडेल पक्षले ठहर गरेको छ । यसरी विधान विपरित नेविसंघको म्याद थप्दै जाने हो भने भोलि नेपाली काँग्रेस केन्द्रीय समितिको म्याद नथपिएला भन्न सकिन्न संस्थापन इतर पक्षका विद्यार्थी नेता मोति भण्डारीले वताए ।

काँगे्रस महासमितिबाट सभापति देउवा र वरिष्ठ नेता पौडेल डिप लभको मेलमिलाप देखिए पनि नेविसंघको सन्दर्भले फेरी शिर्ष तहमा झगडा निम्तिने निश्चित छ । सभापति देउवाले बहुमतबाट केन्द्रीय समितिमा ३२ वर्ष तोके पछि झगडा झाङ्गिदै गएको थियो । वरिष्ठ नेता पौडेल,नेताहरु कृष्ण प्रसाद सिटौला, अर्जुनरसिंह केसी, प्रकाशमान सिंहले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए ।

पछिल्लो समय देउवाले भ्रातृ संगठनमा आफ्नो पकड गुमाउदै गए पछि सबै भन्दा शक्तिसाली भ्रातृ. संगठन नेविसंघको महाधिवेशन नगर्ने निश्कर्षमा पुगेको वताईन्छ ।

पटक पटक वर्तमान नेविसंघ केन्द्रीय समितिको म्याद थप गर्ने र अनुकुल समय केन्द्रीय समिति भङ्ग गरि तदर्थ समिति गठन गर्ने तयारी रहेको देउवा निकट मानिने विद्यार्थी नेता सरोज थापाले वताए । अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्ने र स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन नसक्ने जिकिर गर्दै नेविसंघमा पार्टीले समयमै विकल्प खोज्नु पर्ने दावी गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्