हिउँ चितुवाको आहारा नाउरको गणना हुने



किरन धामी, दार्चुला ।
दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र भित्र पाइने नाउरको पहिलो पटक गणना हुने भएको छ ।

चालु आर्थिक वर्षमा हिउँ चितुवाको आहाराका रुपमा रहेको नाउरको गणनाका लागी ३ लाख रुपैया विनियोजन गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका निमित्त संरक्ष अधिकृत राजु घिमिरेले जानकारी दिए । नाउरको गणना अगामी फागुन देखी गरिने उनले जानकारी दिए । हिउँ चितुवाको आहारा नाउरको संख्या कति छ, भन्ने तथ्याङ्क निकाल्नको लागी गणना गरिने उनले जानकारी दिए ।

अपिनाम्पा संरक्षण क्षेत्र भित्र पर्ने साविकका गाविसहरु ब्याँँस, खण्डेश्वरी र घुषामा नाउर गणना गरिने उनले बताए । ‘बाइनाकुलरबाट हेरेर नाउरको गणना गरिन्छ, गणना रेञ्जर गेमस्काउटहरु खटिन्छन् उनले भने’ । नाउरको गणनाले मानव वन्यजन्तु विचको द्धन्द्ध कति छ, भन्ने कुराको समेत पत्ता लगाउन सकिने निमित्त संरक्षण अधिकृत घिमिरेले बताए ।

अपिनाम्पा संरक्षण क्षेत्र भित्र पर्ने ब्याँस, खण्डेश्वरी र घुषा क्षेत्र नाउरको बासस्थान मानिन्छ । सो क्षेत्रमा नाउरहरु धेरै पाइने उनको भनाई छ । नाउरको बासस्थान र आहाराको समेत अध्ययन गरिने उनले जानकारी दिए । मानव वन्यजन्तु विचको द्धन्द्धलाई न्युनिकरण गरि नाउर संरक्षणलाई बढवा दिनका लागी समेत नाउर गणना गरिने उनले जानकारी दिए । नाउर गणना दुई पटकमा गरिने उनले बताए । ब्याँस क्षेत्रमा पहिले पटकमा र खण्डेश्वरी र घुषा क्षेत्रमा दोस्रो पटकमा नाउर गणना गरिने उनको भनाई छ ।

लोपउन्मुख हिउँ चितुवाको आहारालाई संरक्षण गरि हिउँ चितुवाको संरक्षण गर्ने उद्देश्यले नाउर गणना गरिन लागेको उनले बताए । अपिनाम्पा संरक्षण क्षेत्रभित्र हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, डाँफे, मुनाल, हिँउ मयुर नाउर जस्ता दुर्लभ वन्यजन्तुहरु पाइन्छन् । यस क्षेत्र भित्र निकै मनमोहक फाटँहरु, ताल र मन लोभ्याउने विशाल हिमालहरु रहेका छन्, भने जटामसी, यार्सागुम्बा, पाचँऔले, कटुकी, सुगन्धबाल, लौठसल्लो, दाल चिनी, रिठ्ठा जस्ता बहुमुल्य जडिबुटी पाइन्छन ।

प्रतिक्रिया दिनुहोस्