क्याम्पसको शैक्षिक गुणस्तर उकास्न अनुसन्धानमूलक तालिम सुरु



प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा पहिलोपटक बिहीबारदेखि सदरमुकाम बेनीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु भएको छ । क्याम्पसको अध्ययन अध्यापनलाई अनुसन्धानमूलक बनाउने उद्देश्यका साथ ग्राण्ड विश्वविद्यालय आयोग सानोठिमी भक्तपुरको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले अबको शिक्षा गुणस्तरीय र अनुसन्धानमूलक हुनुपर्ने बताएका छन् । उनले परिवर्तित सन्दर्भमा स्थानीय तहहरुले आफ्नो बजेट विनियोजन र कार्यक्रम सञ्चालन गर्नुपूर्व विकासको आवश्यकताको पहिचान गरेर मात्र लगानी गर्नुपर्नेमा जोड दिँदै गुणस्तरीय तथा व्यवहारीक शिक्षाका लागि अनुसन्धान जरुरी रहेको बताए । विद्यार्थीमार्फत अनुसन्धान गर्न सकिने उनको भनाइ छ ।

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले विश्वविद्यालय स्तरमा सञ्चालन हुने तालिम र गोष्ठीलाई विद्यार्थीको तहसम्म पु¥याउन आवश्यक रहेको बताएका थिए । बेनी नगरपालिकाका प्रवक्ता एवं ८ नम्बर वडा अध्यक्ष रामकृष्ण बराईलीले क्याम्पसको गुणात्मक विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै शैक्षिक उन्नयनका लागि अनुसन्धानमा जोड दिनुपर्ने बताए । नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले क्याम्पसको शैक्षिक विकास र उन्नतिका लागि नगरपालिकामार्फत आवश्यक सबै सहयोग गरिने बताएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दी जिल्ला पुँजी निर्माणको चरणमा नभई परिचालनको अवस्थामा रहेकाले अब पुँजीको निर्माणतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको औंल्याएका थिए । जिल्लाको शैक्षिक अवस्था र विभिन्न समस्याहरुको विषयमा यसअघि पनि छलफल चलाइएको भन्दै उनले क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुको क्षमता अभिवृद्धि र क्याम्पसको बृहत्तर विकासका लागि सञ्चालक समिति लागिपरेको स्पष्ट पारेका छन् ।

क्याम्पसको क्युएए फोकल पर्सन गोरखबहादुर जिसीले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए । आगामी एक हप्तासम्म चल्ने अनुसन्धानमूलक तालिममा धौलागिरी क्षेत्रका विभिन्न ३० जनाको सहभागिता रहेको आयोजक म्याग्दी क्याम्पसले जनाएको छ । तालिमको प्रोफेसर डाक्टर विनोद पोखरेल, डा. प्रेम भण्डारी, डा. ऋषिकेश पाण्डे, डा. ईश्वरी भट्टराई, मनबहादुर खत्री र महेशराज महर्जनले सहजीकरण गर्ने जनाइएको छ ।

क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिका लागि अनुसन्धानमूलक तालिम आयोजना गरिएको बताइएको छ । २०४८ सालमा समुदायका अगुवा व्यक्तिहरुको पहलमा स्थापना गरिएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल झण्डै १ हजार जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा स्नातक तहमा बिहान तथा दिउँसोको समयमा अध्ययन अध्यापन हुँदै आइरहेको छ भने गएको वर्षदेखि बिबिएसतर्फ स्नातकोत्तर तहमा बिहानी कक्षा समेत सञ्चालन भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्