नेपाली बक्सरको वर्चश्व



नेपाल समाचारपत्र, काठमाडौं
प्रथम इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ प्रतियोगितामा नेपाली खेलाडीले वर्चश्व कायम गरेका छन्।
प्रतियोगिताअन्तर्गत बिहीबार बोसीगाउँमा भएको महिला ४८ केजी तौल समूहमा आर्मीमा आबद्ध नेपालकी ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउँदै स्वर्ण जितिन्।

महिला ५१ केजीमा आर्मीमा आबद्ध नेपालकी विमला श्रेष्ठले नेपालकै माला राईलाई अंकको आधार ३–२ ले पछि पार्दै स्वर्ण जितिन्। महिला ५४ केजीमा आर्मीमा आबद्ध नेपालकी मिनु गुरुङले नेपालकी निशा तामाङलाई उपाधि भिड्न्तमा अंकको आधारमा ३–२ ले हराउँदै स्वर्ण जितिन्। महिला ६० केजीको उपाधि भिडन्तमा एपीएफमा आबद्ध संगीता सुनारले नेपालकै पुनम रावललाई अंकको आधारमा ३–२ ले हराउँदै स्वर्ण जितिन्।

बोसीगाउँमा भएको पुरुष ४९ केजीको फाइनल भिडन्तमा नेपाली सेनामा आबद्ध तेजबहादुर देउवाले नेपालकै प्रदीप महर्जनलाई नकाआउट गर्दै स्वर्ण जिते। पुरुष ५२ केजी तौल समूहको उपाधि भिडन्तमा नेपाली सेनामा आबद्ध प्रेम चौधरीले भारतका सचिनलाई आरएससीको आधारमा पराजित गर्दै स्वर्ण जिते। पुरुष ५६ केजी तौल समूहको फाइनल खेलमा नेपालका पुरन राईले नेपालकै विमल रोका मगरलाई पराजित गदै स्वर्ण जितेका छन्। पुरुष ६० केजीको फाइनलमा भुटानका निमा दोर्जीले नेपालका एकबहादुर घलेलाई अंकको आधार ३–२ ले स्तब्ध पार्दै स्वर्ण जित्न सफल भए। पुरुष ६४ केजीमा नेपाल पुलिसमा आबद्ध भूपेन्द्र थापामगरले भुटानका दोर्जी वाङ्जेली उपाधि भिडन्तमा अंकका आधारमा ५–० ले पराजित गर्दै स्वर्ण जितेका छन्। पुरुष ६९ केजीको फाइनल भिडन्तमा नेपाल एपीएफमा आबद्ध विकास लामाले नेपालकै विष्णुप्रसाद घलेलाई अंकका आधारमा ५–० ले पराजित गर्दै स्वर्ण जितेका छन्। पुरुष ७५ केजीमा नेपाल आर्मीमा आबद्ध दीपक श्रेष्ठले नेपालकै रवि सुनारलाई नकआउट गर्दै स्वर्ण जिते। विजेतालाई नेकपा सांसद पम्फा भुसाल, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले पुरस्कृत गरे।

प्रतिक्रिया दिनुहोस्