साफ फुटबलका लागि महानगरको सहयोग



सरोज यादव, विराटनगर
विराटनगरमा आउँदो फागुन २८ देखि चैत ८ गतेसम्म हुन गइरहेको अन्तर्राष्ट्रयस्तरको महिला साफ फुटबल प्रतियोगिताका लागि महानगरले १ करोड रुपियाँ बजेट उपलब्ध गराउने निर्णय गरेको छ।

महानगरको तेस्रो नगरपरिषद्ले साफ फुटबलका लागि सहयोग गर्ने निर्णय गरेको हो। काठमाडौंबाहिर विराटनगरमा पहिलोपटक हुन गइरहेको यस प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगितालाई भव्य बनाउन महानगरले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको मेयर भीम पराजुलीले बताए। भूकम्पपछि काठमाडौंको दशरथ रंगशाला जीर्ण बनेपछि विराटगरमा साफ खेल हुन लागेको हो। एन्फाका सहायक महासचिव वसन्त अर्यालले महानगरबाट प्राप्त १ करोड रुपियाँ सहयोगबाट रंगशालाको स्तरउन्नति गरिने जानकारी दिए। खेलाडीको चेन्जिङ रुम, रंगरोगनलगायतका पूर्वाधारमा रकम खर्च गरिने उनले बताए।

प्रत्येक वर्ष हुने यस खेल यो वर्ष श्रीलंकामा गर्ने तय भएको थियो। श्रीलंकाले खेल गराउन बिलम्ब गरेपछि नेपालमा गर्न लागिएको हो। नेपाल, भारत , भुटान, श्रीलंका, पाकिस्तान, बंगलादेश र मालदिभ्सबाट २ सय ८० भन्दा बढी अन्तर्राष्ट्रिय खेलाडी साफमा सहभागी हुँदै छन्। अहिले पाँचौं साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।

प्रतियोगितालाई लक्षित गरी मुख्य खेलमैदान, प्रशिक्षण र अभ्यास खेल मैदानहरुको स्तरोन्नति तथा व्यवस्थापनलगायत तयारी तीव्र पारिएको हो। मुख्य खेलमैदानको रूपमा शहीद मैदानको व्यवस्थापन भइरहेको छ। त्यसबाहेक दिल्ली पब्लिक स्कुल, प्रदेश प्रहरी तालिम केन्द्र रानी र विराटनगर जुट मिलको खेलमैदानलाई अभ्यासका लागि मर्मत गर्न थालिएको छ।

विराटनगर महानगरपालिकाले मैदान आसपासको सडकको कालोपत्रे गर्ने, मैदानभित्रै आवश्यक पर्ने संरचना निर्माण गर्ने र मैदान पेरिफेरी रंगरोगनको कामसमेत थालिएको छ। प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्