‘ग्यासमा दुई थरी मूल्य आवश्यक’



नेपाल समाचारपत्र, काठमाडौं
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल आयल निगममा देखिएको विकृतिको चाङलाई हटाउन गाह्रो भए पनि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ। बिहीबार आयोजित निगमको ४९औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
उहाँले निगममा प्वालैप्वाल रहेको उल्लेख गर्दै उक्त प्वालबाट चुहिएको तेल थाप्न ढुवानीकर्ता, ट्यांकर चालक, प्रशासक, बिक्रेता, सचिव र मन्त्री सबैले भाँडो थाप्ने गर्दा जनता जहिले पनि मारमा पर्दै आएको बताउनुभयो। खाना पकाउने ग्यासमा दुईथरी मूल्य आवश्यक रहेको उल्लेख गर्दै धनी र गरिबलाई एउटै मूल्यमा ग्यास दिन नहुने बताउनुभयो। पूर्वराजादेखि प्रधानमन्त्री, मन्त्री, तारेहोटल सबैले अनुदानको ग्यास प्रयोग गरेका छन्।

जस्ले गर्दा निगमलाई अहिले ग्यासमा प्रतिसिन्डर सिलिन्डरमा ८० रुपियाँ नोक्सानी छ। साभ्रान्तवर्गलाई परल मूल्यमा र निरपेक्ष गरिबीमा रहेका जनतालाई अनुदानमा ग्यास बिक्री गर्ने व्यवस्था व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।

पेट्रोलियम पदार्थका क्षेत्रमा सुधारको प्रयत्न गर्न गर्दै आए पनि निजी क्षेत्रले सहयोग नगरेको भन्दै उहाँले इन्धनको बिक्री वितरणलाई व्यवस्थित बनाउन सरकारले बिक्रेता नियमावली ल्याउने तयारी गरे पनि निजी क्षेत्रले असहयोग गरेको बताउनुभयो।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ९वाणिज्य० चन्द्रकुमार घिमिरेले निगमले व्यावसायिकता प्रदर्शन गर्न आग्रह गर्दै नसके पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई आह्वान गर्न सकिने उल्लेख गर्नुभयो।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले धरासयी अवस्थामा रहेको संस्थाको पुनःसंरचना गरेर अघि बढ्ने बताउनुभयो। यसअघि निगममा देखिएको अनियमिताको अन्त्य गरी भ्रष्टाचारमा शून्य सहनशीलता र विकृति रोक्दै जाने भन्दै निगमलाई व्यावसायिक सफलता मिल्ने गरी योजना निर्माण गर्ने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्