अब माग भएको एक साताभित्रै नयाँ मिटर



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल विद्युत प्राधिकरणले सिंगल फेजको नयाँ मिटर ग्राहकले माग गरेको सात दिनभित्रमा नै जडान गरिदिने भएको छ। थ्रि फेज र टीओडी नयाँ मिटर माग भएको १५ र ३० दिनभित्रमा जडान गरिदिने प्राधिकरणले जनाएको छ।

प्राधिकरण्का अनुसार ग्राहकलाई प्रवाह गर्ने सेवालाई अझै प्रभावकारी बनाउन र कार्यालय प्रमुख तथा कर्मचारीलाई अझै जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहक सेवा सुधारका लागि ग्राहक सेवा सम्बन्धी प्रतिबद्धता हरेक कार्यालयमा टाँसी सोहीअनुसारको काम गर्न निर्देशन दिनुभएको छ।

नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको ग्राहकबाट गुनासो आएपछि प्राधिकरणले ग्राहक तथा वितरण केन्द्रले कार्यसम्पादन अवधिसहितको प्रतिबद्धता पत्र फ्लेक्समा प्रिन्ट गरी सबैले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ।

अब हरेक वितरण केन्द्रले आफूले प्रदान गर्ने सेवा, कार्यसम्पादन अवधि र सम्पर्क व्यक्तिको नाम तथा सम्पर्क मोबाइल नम्बर समेटिएको विवरण कार्यालय परिसरमा ग्राहकले देख्ने ठाउँमा राख्नुपर्नेछ। प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनायले प्रतिबद्धतापत्र आफू मातहतका कार्यालयहरुमा राख्न ८ वटै क्षेत्रीय कार्यालयलाई परिपत्र गरिसकेको छ।

सिंगल फेजको मिटर जलेमा वा बिग्रेमा एक दिन, थ्रि फेजको तीन दिन र डीओडी १० दिनभित्रमा जडान÷मर्मत गर्ने प्रतिबद्धता प्राधिकरणले जनाएको छ। सर्भिस केवल तथा वितरण लाइन बिग्रेमा १२ बजेसम्म जानकारी आएको सोही दिन र त्यसपछिको भोलिपल्ट मर्मत गरिने छ।
यसै गरी मिटर रिडिङ र बिलसम्बन्धी समस्या १२ बजेसम्म जानकारी आएको सोही दिन र त्यसपछिको भोलिपल्ट समाधान गर्ने प्रतिबद्धता प्राधिकरणको छ।

प्राधिकरणले प्रवाह गर्ने सेवामा कुनै गुनासो भएमा सम्बन्धित केन्द्र प्रमुखको मोबाइल नम्बरमा वा प्राधिकरणको जनगुनासो व्यवस्थापनको फोन नम्बर ११५० मा अभिलेख गर्न सकिने व्यवस्था गरिएको छ। प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई क्षेत्रीय कार्यालय र त्यसअन्तर्गतका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिरहेको छ।

प्राधिकरण कार्यकारी निर्देशक घिसिङले लोडसेसडङमुक्त गरेपछि विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिने लगायतका काममा केन्द्रित हुनु भएको छ्।

 

प्रतिक्रिया दिनुहोस्