बिरामीले गरे आत्मदाह 



अभिमन्यु लामिछाने, उदयपुर
उदयपुरमा आर्थिक अभावका कारण एक बिरामीले आफैले आगो लगाएर आत्मदाह गरेका छन्। उदयपुरगढी गाउँपालिका–४ का सातबोटे शेरबहादुर कार्कीले बुधबार राती परालको गोठमा लागो लगाएर आत्मदाह गरेका हुन्। पायल्स, जण्डिस र लिभरको बिरामी कार्कीले आत्मदाह गरेका हुन्।

बिरामीका आफन्तलाई डाक्टरले पनि धेरै खर्च लाग्ने बताएका थिए। उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेको घरनजिकै परालको गोठमा आगो लगाई आगोमा हामफालेपछि घाइते अवस्थामा गाउँलेले फेला पारेका थिए।

गोठको आगोमा जलेको अवस्थामा गाउँलेहरूको उद्धारपद्धि उपचारका क्रममा राती २ बजे जिल्ला अस्पताल गाईघाटमा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिनुभयो।

आगोमा जलेका मृतक कार्कीको साथमा विषादी औषधिसमेत फेला परेकाले घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख राईले बताउनुभयो। श्रीमतीसँगै रहेका कार्कीले श्रीमतीलाई झुक्याएर गोठमा आगो लगाई आत्मदाह गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्