हतियारधारीले आक्रमण गर्दा ४२ गोठालाको मृत्यु



काठमाडाैं ।

हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गर्दा सुडानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाको हत्या गरेको हो ।

उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले सिन्ह्वालाई दिएको जानकारीअनुसार गत आइतबार यो घटना भएको हो ।

‘मुर्ले आदिवासी समूहले गरेको अमानवीय व्यवहारप्रति हामीलाई पश्चाताप छ, यो घटना एकदमै अमानवीय र स्थानीय बासिन्दालाई आक्रान्त पार्ने खालको छ,’ बिलुले भने ।

उनले हतियारधारी समूहको आक्रमणमा परी मारिनेमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिए । घाइतेहरूको अवस्था स्थिर रहेको र सयभन्दा बढी पशु चौपाया चोरी भएको अधिकारीहरूले जनाएका छन् ।

घटना भएको क्षेत्र दशकौँदेखि साम्प्रदायिक तथा जातीय हिंसाबाट प्रभावित हुँदै आएको छ । त्यस क्षेत्रमा बालयौन दुव्र्यवहारलगायतका अन्य हिंसा पनि हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्